काठमाडौं । आजियटाले ६ अर्ब ६५ करोड रुपैयाँमा स्पेक्ट्रलाइट यूकेलाई एनसेल बेचेको छ । आजियटा समूहले ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस् होल्डिङ लिमिटेडलाई स्पेक्ट्रलाइट यूके लिमिटेडसँग बिनासर्त बिक्री गर्ने सम्झौता गरेको हो ।
स्पेक्ट्रलाइट यूके नेपाली मूलका सिंगापुर निवासी शतिशलाल आचार्यको कम्पनी हो । स्पेक्ट्रलाइट दुई महिनाअघि मात्रै सन् २०२३ सेप्टेम्बरमा खुलेको कम्पनी हो । कम्पनीमा शतिशलाल आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त लगानी छ । आचार्य एनसेलमा २० प्रतिशत हिस्सा भएको सुनिभेरा क्यापिटल भेन्चर्सका संचालक पनि हुन् ।
कम्पनी खुल्नु र आजियटाले आफ्नो सेयर बिक्री गर्ने निर्णय गर्नु एकै समयमा हुनु संयोगमात्र नहुनसक्छ । सेप्टेम्बर २९ मा आजियटाको बोर्डले आफ्नो सेयर बेच्ने निर्णय गरेको विज्ञप्तिमा जनाएको छ । तर, विज्ञप्ति २ महिनापछि नोभेम्बर २९ मा सार्वजनिक गरिएको थियो ।
नेपालबाट फिर्ता जाने आजियटाको निर्णय नेपालको व्यावसायिक वातावरणको गहन मूल्यांकनमा आधारित भएको भन्दै आजियटाले अनुचित कर र नियामक अनिश्चितताको वर्तमान परिस्थितिमा सञ्चालन जारी राख्नु ठिक नभएको निष्कर्षमा पुगेको थियो ।
आजियटाले सन् २०१६ मा एनसेलमा रहेको रेनोल्डस् होल्डिङको ८० प्रतिशत सेयर १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको थियो ।
दोहोरो करको परिदृश्यबाट उत्पन्न हुने आसन्न र अस्तित्वको जोखिमलाई ध्यानमा राख्दै र सन् २०२९ मा कम्पनीको इजाजतपत्रको म्याद समाप्त हुने अतिरिक्त जोखिम, त्यसपछि आजियटाको हिस्सेदारी स्वतस् सरकारको नाममा जाने र नेपालमा विदेशी लगानी संरक्षणको प्रतिकूल वातावरणलाई ध्यानमा राख्दै आजियटाले एनसेलको सेयर बिक्री गर्ने निर्णय लिएको जनाएको छ ।
आजियटाले ५ करोड अमेरिकी डलरमा आफ्नो स्वामित्वको सेयर बेचेको स्पष्ट पारेको छ । जसमध्ये ५० लाख डलर ६ महिनाभित्र र बाँकी चार वर्षपछि भुक्तानी गर्ने गरी बेचेको प्रेस विज्ञप्तिमा जनाएको छ ।
सतिशलाल भन्छन्ः एनसेलका करोडौं ग्राहकलाई परिस्कृत सेवा दिन प्रतिबद्ध छौं
आजियाटा यूके लिमिटेडसँग एनसेलको शेयर कारोबार सम्झौतापछि स्पेक्ट्रलाइट लिमिटेडका लगानीकर्ता एवं निर्देशक सतिशलाल आचार्यले एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै ग्राहकलाई परिस्कृत सेवा दिने बताएका हुन् ।
“एनसेलको शेयर होल्डिङको लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ,” उनले भने, “दूरसञ्चार क्षेत्रको मेरो वृहत् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौ ग्राहकलाई विभिन्न परिस्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं ।”
स्पेक्ट्रलाइटका लगानीकर्ता आचार्य नेपाली मूलका व्यवसायी हुन् । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् किटस् एन्ड नेभिसमा रहेको रेनोल्ड्स होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !