काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता मात्रै गर्ने भएको छ ।
मौद्रिक नीतिको समीक्षा गर्ने समयमा चाडपर्व परेको कारण पनि समीक्षामा केहि ढिलाई भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको लागि विभागीय तहबाट सम्पूर्ण तयारी सकाएको छ । अहिले समीक्षाको लागि उच्च व्यवस्थापन तहमा छलफल भइरहेको केन्द्रीय बैंक स्रोतले बताएको छ । उच्च व्यवस्थापन तहमा छलफल भएपश्चात सञ्चालक समितिले पारित गरेपछि समीक्षा सार्वजनिक गरिने भएको हो ।
अहिले अर्थतन्त्र चलायमान बनाउन केन्द्रीय बैंकले आफ्नो नीतिलाई केहि लचिलो बनाउदै लगेको छ । समीक्षामा पनि केन्द्रीय बैंकले केहि नीतिहरुमा लचकता अपनाउने संकेत गरेको छ ।
मौद्रिक नीतिको समीक्षा हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले समेत गभर्नर महाप्रसाद अधिकारी लगायतलाई बोलाएर अर्थतन्त्रको विषयमा छलफल गरेका थिए । यसले गर्दा पनि मौद्रिक नीतिको समीक्षामा अझै लचकता अपनाउनु पर्ने बाध्यता राष्ट्र बैंकलाई छ ।
राष्ट्र बैंकले अर्थमन्त्रालयको प्रेसरका कारण मौद्रिक नीति अघि नै सर्कुलर जारी गर्दै शेयर धितो कर्जा, घरजग्गा कर्जालगायतमा केही लचक नीति लिएको थियो । यसले गर्दा पनि अब समीक्षामा ठूलो नीतिगत परिवर्तन हुने अपेक्षा भने गरिएको छैन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !