काठमाडौं। बुधबार राति काठमाडौं-दुबई उडानमा छुटेर अलपत्र ३१ जना यात्रुलाई नेपाल वायुसेवा निगमले बिहीबार विभिन्न वायुसेवामार्फत दुबई पठाउँदै छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको दुबई उडानका लागि गएको उडान नम्बर आरए २२९ मा छुटेका ती यात्रुलाई बिहीबार बिहानैदेखि वैकल्पिक उडानमार्फत पठाइएको निगम प्रवक्ता रमेश पौडेलले बताए। राष्ट्रसंघीय जलवायु परिवर्तनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल बुधबार राति दुबइ प्रस्थान गरेका थिए।
उनको उडान व्यवस्थापनका लागि निगमको राति ११:३० बजेको उडान ९:३० बजे सारिएको थियो। जसका कारण यात्रुको फ्लाइट छुटेको हो। निगम व्यवस्थापनले उडानको समय सार्नु अगाडि नै यात्रु र ट्राभल एजेन्सीलाई पत्राचार गरेको जनाएको छ। तैपनि ढिलाइका कारण यात्रु अलपत्र परेको प्रवक्ता पौडेलले बताए।
बिहीबार साँझसम्म अलपत्र यात्रु सबैलाई दुबई पठाउने तयारी भइसकेको उनले बताए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !