धनगढी । कञ्चनपुरस्थित बेलौरी नगरपालिका क्षेत्रका नाका एरियामा सशस्त्र प्रहरी बल, नेपालका एक इन्सपेक्टरले घुस धन्दा चलाएको आरोप लागेको छ। बेलौरी नगरपालिकाको वडा नम्बर ६ स्थित नाका क्षेत्रमा सशस्त्रका इन्सपेक्टर नरेश चौधरीले घुस लिने गरेको आरोप लागेको हो।
त्यहाँको ढक्का चादर नाका क्षेत्रमा तस्करी गरेर माल, सामान ल्याउनेहरुबाट चौधरीले मासिक ५ हजारका दरले पैसा बुझ्ने गरेको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार दसैंको बेलामा तिनै चौधरीले त्यहाँका स्थानीय व्यापारीहरूबाट १५ हजार रुपैयाँ बुझेका थिए। चौधरीले भारतबाट नेपालतर्फ सामान ल्याएर नेपालमा व्यापार गर्ने दसैं अगाडि प्रती ५र५ हजार लिएर सामान ल्याउन दिने सोमराज सुनार, जितेन्द्र गुप्ता र सन्दिप गुप्ताबाट ५र५ हजारका दरले रकम बुझेका हुन्। यसैगरी उनले अरुबाट पनि पैसा लिएको आरोप छ। आज ती इनसपेक्टरकै सूचनाका आधारमा दसैंमा पैसा बुझाएका सन्दिपको ३० हजार भारु बराबरको सामान र मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेपछि उनको यस्तो धन्दा खुलेको हो। आफ्नो समान समातिएपछि गुप्ताहरुले पैसा बुझाएको कुरा सार्वजनिक गरेका छन्। १५ हजार भन्दा बढी पैसा नदिएपछि सामान बरामद गराएको व्यापारीको बुझाई छ।
ती इन्सपेक्टर ३५ नम्बर गण हेडक्वाटरमा दरबन्दी भई सादा पोशाकमा खटिने प्रहरी अधिकृत हुन्। उनले आफूले पैसा नलिएको दाबी गरेका छन् भने सामान समातेको हुनाले आफूमाथि तस्करहरुले आरोप लगाएको उनको भनाई छ। उता सशस्त्रका एसपी प्रेम रावलले भने इन्सपेक्टर चौधरीका सम्बन्धमा छानबिन हुने र दोषी ठहरिए कारबाही गरिने बताएका छन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !