काठमाडौं। पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका लागि गठन गर्न लगाएको कार्यदलले दुई साता वित्दा पनि पत्र पाउन सकेको छैन।
चौतर्फी विरोधपछि मन्त्री किराती आफैं सम्भाव्यता अध्ययन गराउन हच्किएका छन्। उनी हच्किएका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्यदलका संयोजक र सदस्यलाई पत्र नदिएको हो।
प्राधिकरणले यसअघि २ पटक गरेको अध्ययनले नै धरानमा विमानस्थल निर्माण गर्न उपयुक्त नरहेको देखाएको थियो। विराटनगर विमानस्थलबाट ४० किलोमिटरको हवाई दूरीमा अर्को विमानस्थल बनाउनु उपयुक्त नहुने र भौगोलिकरुपमा पनि जोखिमपूर्ण रहेको प्राविधिकको प्रतिवेदनपछि प्राधिकरणले धरानमा विमानस्थल बनाउने फाइल नै बन्द गरेको थियो।
यस विषयमा प्राधिकरणले जानकारी गराउँदा गराउँदै मन्त्री किरातीले गत कात्तिक २४ गते सम्भाव्यता अध्ययन कार्यदल गठन गर्न लगाएका थिए। उनको चाहनामा प्राधिकरणले इन्जिनियर प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा सीए अनिल बस्नेत र वरिष्ठ कानुन अधिकृत विमल खनाल सदस्य रहेको कार्यदल गठन गरेको थियो।
प्राधिकरणका एक उच्च अधिकृतले पत्र नदिइएका कारण कार्यदलले काम नथालेको बताए। ‘यसअघि नै विमानस्थल बनाउन सम्भव नरहेको भनेर प्रतिवेदन तयार भइसकेको अवस्थामा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गर्न लगाएपछि चौतर्फी विरोध भयो। सायद यसबाट मन्त्रीज्यूलाई पनि निर्णय ठिक नभएको भन्ने लागेको हुन सक्छ। कार्यदललाई काम लगाउन मन्त्रालयले अहिले चासो दिएको छैन,’ ती उच्च अधिकृतले भने।
सम्भाव्यता अध्ययनको काम अगाडि नबढेपछि धरानमा हेलिपोर्ट निर्माणको प्रस्ताव आएको छ। धरानका स्थानीयबाट प्राधिकरण र मन्त्रालयमा हेलिपोर्टको प्रस्ताव आएको हो। ‘सायद विमानस्थल बन्दैन भन्ने लागेर हेलिपोर्ट निर्माणको प्रस्ताव गरेको हुनसक्छ’, प्राधिकरणका एक कर्मचारीले भने। यो प्रस्तावबारे मन्त्री किरातीले प्राधिकरणलाई केही भनेका छैनन्।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !