काठमाडौँ । भारतले नेपालबाट मासिक ३ अर्ब बढीको विद्युत् खरिद गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट उपलब्ध चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्याङ्क अनुसार औसतमा मासिक ३ अर्ब १२ करोड ५२ लाख रुपैयाँ बराबरको विद्युत् भारतले खरिद गरेको छ ।
प्राधिकरणका अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म भने १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ बराबरको विद्युत् भारतीय बजारमा पुगेको हो । सो बराबरको विद्युत् निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख रुपैयाँ भारतीय रुपैयाँ आर्जन भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । विद्युत् निर्यातबाट हुने आम्दानीले देशको विदेशी मुद्रा सञ्चिति तथा नेपाल–भारतबिचको व्यापार घाटा कम गर्न पनि महत्त्वपूर्ण योगदान रहेको निर्देशक घिसिङले बताए ।
गत आवको पहिलो चार महिनामा पनि ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ ।
गत जेठ २८ गतेदेखि प्राधिकरणले भारतीय बजारमा विद्युत् निर्यात सुरु गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारतीय बजारमा बिक्री सुरु गरेको हो । जेठदेखि कात्तिकसम्मको अवधिमा भने कुल १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ । सो बराबरको विद्युत् निर्यातबाट १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन भएको छ।
प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । चार महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट ९ रुपैयाँ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट ७ रुपैयाँ ७६ पैसा थियो ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिभिएन लाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !