काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना हुने बताएका छन्।
शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन्। विस्तारै विदेश जानु नपर्ने अवस्था यहाँ सिर्जना हुन्छ। जलविद्युत आयोजनामा लगानी भइरहेको छ, पर्यटकको संख्या बढ्दैछ। कृषि क्षेत्रमा लगानी बढ्छ, सुचना प्रविधिमा धेरै युवाहरु लागेर आम्दानी गरिरहेका छन्।’
त्यस अवसरमा उनले खेलकुदलाई सरकारले प्राथमिकतामा राखेको र राष्ट्रिय गौरवको आयोजनामा राखेर क्रिकेट मैदान निर्माण गर्ने तयारी गरेको बताए। साथै, आफ्नो बाल्यकाल सम्झिँदा उनले नयाँ पुस्तालाई पढाइमा ध्यान दिन आग्रहसमेत गरेका थिए।
उनले भने, ‘पढाइलाई प्राथमिकता राख्नुहोला। पढाइ भयो भने प्रगति गर्नबाट कसैले रोक्न सक्दैन।’
महतले बालाजु-ककनी-त्रिशुली सडकखण्ड धेरै वर्षदेखि अलपत्र रहेको भन्दै अहिले सो सडक निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढिसकेको र छिट्टै बाटो पक्की बन्ने दाबी गरे। उनले सुरुङमार्ग निर्माणका लागि पनि बजेट छुटाएको बताए। सुरुङमार्ग निर्माण सम्पन्न भएसँगै नुवाकोट र काठमाडौंको दूरी छोटो हुने उनले बताए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !