काठमाडौं । कात्तिक महिनामा धितोपत्र दोस्रो बजारबाट पुजीँगत लाभकरमार्फत सरकारले ८ करोड ४१ लाख ५४ हजार रूपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ।
कात्तिकमा व्यक्तिगत लगानीकर्तातर्फ अल्पकालिन लगानीकर्ताबाट ४ करोड ६० लाख ४१ हजार रूपैयाँ र दिर्घकालिन लगानीकर्ताबाट २ करोड ६९ लाख १८ हजार रूपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको हो।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार समिक्षा अवधिमा संस्थागत लगानीकर्ताबाट १ करोड ११ लाख रूपैयाँ भन्दा बढी पूँजीगत लाभकर संकलन भएको हो।
कात्तिक महिनामा १२ दिन मात्रै बजार खुलेको थियो। यो समयअवधिमा १० अर्ब २१ करोड ७३ लाख रूपैयाँभन्दा बढीको ३ करोड ९८ लाख ८२ हजार ७४९ कित्ता धितोपत्र कारोबार भएको छ । बजार भने असोज मसान्तसम्म १ हजार ८६४ दशमलव ६२ विन्दुमा रहेकोमा कात्तिक महिनाको अन्तिम कारोबार दिनसम्म १ हजार ८५२ विन्दुमा झरेको थियो ।
असोज महिनाको तुलनामा भने कात्तिकमा सरकारले १३ करोड ५४ लाख २४ हजार रूपैयाँभन्दा कम पूँजीगत लाभकर संकलन गरेको छ। असोज महिनामा कुल २१ करोड ९५ लाख ७९ हजार रूपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो । असोज महिनामा अल्पकालिन लगानीकर्ताबाट १५ करोड ७६ लाख रूपैयाँभन्दा बढी र दिर्घकालिन लगानीकर्ताबाट ६ करोड १९ लाख रूपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको थियो।
सरकारले धितोपत्र दोस्रो बजारमा कारोबार गर्नेलाई व्यक्तिगत लगानीकर्ताको हकमा दिर्घकालिन (एक वर्षभन्दा बढी शेयर कायम गर्ने ) अल्पकालिन(एक वर्षभन्दा कम शेयर कायम गर्ने) गरि दुई भागमा विभाजन गरेको छ। सोही अनुसार सरकारले अल्कालिन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दिर्घकालिनका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।
संस्थागत लगानीकर्ताले भने १० प्रतिशत पूँजीगत लाभकर तिर्ने व्यवस्था रहेको छ। यी लगानीकर्ताहरूले धितोपत्र कारोबाबाट नाफा कमाएको खण्डमा भारित औषत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्र्ने व्यवस्था रहेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !