काठमाडौं । आयात र निर्यात दुवै बढ्न सकेको छैन । चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात ३.७९ प्रतिशत निर्यात ७.६८ प्रतिशतले खुम्चिएको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्म नेपालले ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, गत आवको सोही अवधिको तुलनामा भने २० अर्ब १८ करोड ७९ लाख रुपैयाँले कमी हो । विभागका अनुसार गत आवको कात्तिक मसान्तसम्ममा भने ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको आयात भएको थियो । चाडपर्वको मुख्य सिजनमा पनि आयात बढ्न नसकेको देखिन्छ । विशेषगरि आर्थिक सुस्ताले पनि आयात बढ्न नसकेको जानकारवालाहरु बताउँछन् ।
समीक्षा अवधिमा नेपालबाट हुने निर्यात पनि घटेको छ । गत आवको चार महिनामा ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । तर, चालु आवको सोही अवधिमा भने ४ अर्ब २० करोड ८९ लाख रुपैयाँले घटेर ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ कायम भएको छ ।
आयात र निर्यात घटेपछि नेपालको वैदेशिक व्यापार पनि खुम्चिएको छ । समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ कायम भएको छ। तर, यो गत आवको कात्तिक मसान्तसम्मको तुलनामा भने ४।१५ प्रतिशतले कमी हो । चार महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !