काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले बिहीबार काठमाडौँ केन्द्रित प्रदर्शन गर्दैछ । अभियानले काठमाडौँका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो ।त्यस्तै नेकपा एमालेको युवा संघले पनि आजै तिनकुनेमा प्रदर्शन गर्दैछ । यसैबिच प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ ।
प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको छ ।सुरक्षाकर्मीहरुलाई परिचालन गर्न उपत्यका प्रहरी कार्यालयले डिआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरेको छ । कमाण्ड सेन्टरमा नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय (डीजीएमआई) का एक जना अधिकृतसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली रहनेछन् ।
आज बिहानैदेखि काठमाडौंका चोक-चोकमा हतियारसहितका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । प्रदर्शनकारी बसेका स्थानमा पनि सादा पोशाकसहितका सुरक्षाकर्मी खटिएका छन् ।जुलुसमा सादा पोशाकका सुरक्षाकर्मीहरु पनि रहनेछन् र उनीहरुले सूक्ष्म निगरानी गर्नेछन् । साथै सीसीटीभी फुटेजहरुबाट पनि जुलुसको निगरानीको व्यवस्था गरिएको छ । बल्खु र तिनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गर्ने तयारी छ ।दुर्गा प्रसाईंले कार्यक्रम गर्ने स्थल बल्खुमा २०० भन्दा धेरै प्रहरी परिचालन गरिएको छ । प्रहरी टोली तालिमप्राप्त कुकुरसहित सो क्षेत्रमा तैनाथ छन् ।
काठमाडौँका मूख्य सडकका ताजा तस्विरहरु-
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !