काठमाडौं। यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ।
नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमान्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको छ। गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड १३०५ मेगावाट थियो।
तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको माग औद्योगिक ग्राहक बाहेकको हो। यस वर्ष प्राधिकरणले १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो।
लक्ष्मीपूजाको दिन देशभित्रैका विद्युत् गृहहरुबाट उत्पादन गरी आपूर्ति गरेको थियो। देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको ५१७ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ। गत वर्ष लक्ष्मीपूजा पिक समयमा ४०६ मेगावाट मात्र निर्यात गरिएको थियो। लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १९५५ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष प्रणालीको पिक डिमाण्ड १७११ मेगावाट थियो।
यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमान्ड ३६६ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष ३४२ मेगावाट थियो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन आइतबार उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा खटिएका थिए।
कार्यकारी निर्देशक घिसिङले ७ वर्षअघि लक्ष्मीपूजाको दिनको माग पूरा गर्न २५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनलेनै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताए। उनले गत वर्षभन्दा लक्ष्मीपूजाको पिक डिमाण्ड १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गरे।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !