काठमाडौं । वाणिज्य बैङ्कहरूले सरकारलाई तिर्ने आयकर पनि दोहोरो अङ्कले घटेको छ । बैङ्कहरूको नाफामा सङ्कुचन आएसँगै सरकारले प्राप्त गर्ने आयकर पनि २२.७४ प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा बैङ्कहरूले सरकारलाई ६ अर्ब ७ करोड १६ लाख ८५ हजार रुपैयाँ आयकर तिरेका छन् । तर, यो गत वर्षको पहिलो त्रैमासको तुलनामा भने १ अर्ब ७८ करोड ६७ लाख रुपैयाँले कमी हो । गत आवको असोज मसान्तसम्ममा बैङ्कहरूले आफ्नो नाफा र आम्दानीबाट सरकारलाई कुल ७ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ आयकर बुझाएका थिए ।
बैङ्क तथा वित्तीय संस्थाहरूले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने हुन्छ । बैङ्कहरूले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रावधान छ ।
समीक्षा अवधिमा बैङ्कहरूको नाफा १८.६० प्रतिशतले घटेको छ । गत वर्षको पहिलो त्रैमासमा बैङ्कहरूले १६ अर्ब ५५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । तर, यस वर्षको पहिलो त्रैमासमा भने घटेर १३ अर्ब ४७ करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् । विशेषगरि बैङ्कहरूको खराब कर्जा बढेकाले नाफामा असर परेको हो । पहिलो त्रैमासमा बैङ्कहरूले आम्दानीको धेरै रकम इम्पेयरमेन्ट चार्जमा छुट्ट्याएका छन् ।जसले नाफा प्रभावित बनेको छ ।
बैङ्कहरूको नाफा घटेसँगै सरकारले प्राप्त गर्ने आयकर पनि घटेको हो । आर्थिक मन्दीका कारण बैङ्कहरूले प्रवाह गरेको कर्जा समयमा उठ्न सकेको छैन । साँवा र ब्याज समयमा नउठ्दा बैङ्कहरूको खराब कर्जा दोब्बरभन्दा धेरैले बढेको छ । आर्थिक शिथिलताले बैङ्कहरूको कर्जा असुल पूर्ण रूपमा भएको छैन । जसले बैङ्कहरूको खराब कर्जा पनि बढ्दो छ । खराब कर्जा बढेपछि नै बैङ्कहरूको नाफा पनि प्रभावित बनेको छ । यसको असर बैङ्कहरूबाट सरकारले पाउने आयकरमा परेको हो ।
पहिलो त्रैमासमा अधिकांश बैङ्कहरूको आयकर घटेको छ । सञ्चालनमा रहेकामध्ये ११ वटा बैङ्कको आयकरमा गिरावट आएको हो ।तीन महिनामा सबैभन्दा धेरै आयकर बुझाउनेमा नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क (एनआइएमबि) रहेका छन् ।
पहिलो त्रैमासमा नबिल बैङ्कले सरकारलाई ६७ करोड ८८ लाख रुपैयाँ आयकर बुझाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !