बुटवल । देशको अर्थतन्त्र रेमिटेन्सले थामिएको छ । राजस्वले चालु खर्च धान्न पनि सकिरहेको छैन । चर्पी धारो बनाउन पनि राज्यले ऋण तथा अनुदानमा भर पर्नुपर्ने अवस्था छ । सीमित उद्यमीबाट उठेको राजस्वबाट सिङ्गो देशका बहुआयामिक आवश्यकताहरु भरथेग गर्न मुश्किल पर्थ्यो, परेकै छ । उद्यमबाट बाहिर रहेकालाई उद्यमशीलता भित्र प्रवेश गराउनुपर्ने छ, स्वदेशी उत्पादन बढाउनुपर्ने छ तर सरकारले उद्यमशीलताको सम्भावना बोकेकालाई विदेश पठाउने र वस्तु आयातमाथि निर्भर रहने परम्परा कायमै राखेको छ ।
अर्थतन्त्रको यही परिदृश्य देखिएको वर्षौ भइसक्यो, अझै वर्षौ यस्तै परिदृश्य देख्दै गरेका हुनेछौँ । भलै अर्थतन्त्रका आँकडा फेरिएको किन नहोस् । अर्थशास्त्रका जानकारहरुले आर्थिक कोणबाट समस्याको प्रकृतिलाई केलाउँदै आएका छन्, समाजशास्त्रीहरु आजको समाजको चरित्रलाई पनि दोष दिन्छन् । अर्थतन्त्रका यी परिदृश्यको समाधान आर्थिक कोणबाट मात्र वा कुन कोणबाट खोज्दा भेटिन्छ भन्ने जिज्ञासामा विकास तथा सशक्तीकरणकै क्षेत्रमा अध्ययन, अध्यापन तथा स्थलगत अनुभव आर्जन गरेका लेखक बाबुराम भुसालले भने “विकास आफैमा बहुआयामिक विषय हो, यसको समाधान पनि बहुआयामिक ढंगले नै खोजिनुपर्छ ” भन्ने धारणा राख्दछन् ।
मानव प्राणीले अपेक्षा गरेजस्तो परिवर्तन कसरी हासिल हुन सक्ला ? भन्ने मूल जिज्ञासाको जवाफ खोज्ने जमर्को गर्दै दुई वर्षको साधना पश्चात भुसालले गत वर्ष ‘अभ्यास’ नामक पुस्तक र हालै मात्र ‘अभ्यास काव्ययात्रा’ नामक पुस्तक लेखेर पाठक सामु ल्याएका छन् ।
यी पुस्तकहरुका विषयमा केही अखवारहरुमा समीक्षात्मक लेखहरु प्रकाशित भएका र केही चर्चा परिचर्चाहरु पनि भएका देखिन्छन् । वाणिज्यपोस्टको हाम्रो टिमले उक्त पुस्तकमा उल्लेखित विषयवस्तुहरु अन्तर्गत खास गरी आर्थिक सुधारको उपायहरुका विषयमा उनीसँग केही प्रश्नहरु राखेको थियो ।
प्रस्तुत छ भुसालसँग गरिएका कुराकानीका सम्पादित अंश-
गत बर्ष अभ्यास पुस्तक पाठकमाँझ ल्याउनुभएको थियो, यसपटक अभ्यास काव्ययात्रा बजारमा ल्याउनुभएको छ । नाम उस्तै उस्तै देखिन्छ नि ?
मानव प्राणीले अपेक्षा गरेको परिवर्तन कसरी सम्भव छ भन्ने विषयमा लेखिएको पुस्तक हो, ‘अभ्यास’ । सोही अभ्यास पुस्तकमा उल्लेखित विषयवस्तुलाई सरल ढंगले बुझ्न सम्भव बनाउन र त्यही अभ्यास पुस्तकमा लेखिएका विषयवस्तुलाई थप स्पष्ट पार्नको निम्ति तिनै विषयवस्तुलाई काव्यात्मक ढंगले प्रस्तुत गरिएको कवितासङ्ग्रह हो, ‘अभ्यास काव्ययात्रा’ ।
मानव प्राणीले अपेक्षा गरेको परिवर्तन भन्नाले कस्तो परिवर्तनलाई भन्न खोज्नु भएको हो ?
एकातर्फ हेर्दा हिजो ढुङ्गे युग हुँदै आज सूचना प्रविधिको युगसम्म आइपुग्दा मानव प्राणीको आफ्नो काम र भोगाइमा स्तरोन्नति, विविधीकरण तथा विशिष्टीकरण पनि हुँदै गएको देखिन्छ । अर्कोतर्फ हेर्दा यही मानव प्राणीले अभाव, असमानता, आर्थिक सङ्कट, आर्थिक दबाब, बेरोजगारी, अशिक्षा, अस्वस्थता, वातावरणीय प्रदुषण, जलवायु परिवर्तन, अन्याय, अत्याचार, हत्या, हिंसा, भ्रष्टाचार, दुर्व्यवसनी, बलात्कार, दुख, विकृति, विसंगती लगायत अनेक दुरावस्थाहरु पनि भोग्न विवश छ । मानव प्राणीले यस्ता दुरावस्था भोग्नु नपर्ने गरी आफ्नो काम र भोगाइमा स्तरोन्नति, विविधीकरण तथा विशिष्टीकरण गर्दै जान सक्ने अवस्था नै अपेक्षित परिवर्तन हो ।
तपाईंले भनेको अपेक्षित परिवर्तन भित्र आर्थिक विकासको कुरा कहाँनेर पर्छ ?
अपेक्षित परिवर्तन कुनै एक पक्षमा हुने परिवर्तनमात्र होइन, बहुआयामिक परिवर्तन हो, जसभित्र प्राकृतिक, जैविक, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, आध्यात्मिक लगायत सबै पाटो जोडिएको हुन्छ । मेरो अध्ययन अनुसार जुन कारणले आर्थिक विकास हुन सकेको छैन, त्यही कारणले गैर आर्थिक विकासलाई पनि अवरुद्ध बनाएको रहेछ र जुन कारणले गैर आर्थिक विकास अवरुद्ध भएको छ, त्यही कारणले आर्थिक विकासलाई पनि छेकिरहेको रहेछ । जुन उपायबाट आर्थिक विकास सम्भव छ, त्यही उपायबाट गैर आर्थिक विकास पनि सम्भव रहेछ ।
यस्तो अपेक्षित परिवर्तन हुन सक्ने उपाय के रहेछ ?
हरेक व्यक्तिले आफ्नो आफ्नो जैविक यन्त्रमा ३३ वटा अभ्यास अन्योन्याश्रित ढंगले पर्याप्त मात्रामा गर्न सकेको खण्डमा अपेक्षित परिवर्तन सम्भव छ जसको विस्तृत व्याख्या तथा पुष्टि अभ्यास पुस्तकमा गरिएको छ ।
अभ्यास कसले गर्नुपर्यो ?
अभ्यास सरकारले गर्ने, निजी क्षेत्रले गर्ने वा गैर सरकारी संस्थाले गर्ने भन्ने होइन । अभ्यास हरेक व्यक्ति व्यक्तिले आफ्नो आफ्नो जैविक यन्त्रमा गर्नुपर्ने हो ।
यस्तो अभ्यास एक्लै एक्लै गर्ने कि सामूहिक तथा संस्थागत रुपमा गर्ने भन्न खोज्नुभएको ?
हरेक व्यक्तिले आफ्नो सामुदायिकता तथा अपनत्व अभिव्यक्त हुने निकायमा आवद्ध भएर ती हरेक व्यक्तिले आफ्नो आफ्नो जैविक यन्त्रमा अभ्यास गर्ने भन्न खोजिएको हो ।
त्यस्तो सामुदायिकता अभिव्यक्त हुने निकाय अब नयाँ बनाउनु पर्यो भन्न खोज्नुभएको हो कि हाल पनि त्यस्ता निकाय तथा संस्थाहरु क्रियाशील छन् कतै ?
व्यक्ति व्यक्तिको सामुदायिकता तथा सामूहिक स्वामित्व आज या त परिवारमा देखिन्छ या त सहकारी संगठनहरुमा केही हदसम्म देखिन्छ । आजका राज्य संगठन पनि भोलि बृहत सामुदायिक संगठनको रुपमा विकसित हुन सक्ने आधार तथा संभावना पनि अभ्यास पुस्तकमा स्पष्ट पारिएको छ । केही अभ्यास परिवारभित्र गर्ने प्रकृतिका हुन्छन्, केही अभ्यास सहकारी निकायमा आवद्ध भएर त केही बृहत संगठनको रुपमा कायम हुने राज्य संगठनमा आवद्ध भई गर्नुपर्ने प्रकृतिका हुन्छन् ।
तपाईंले सहकारीको प्रसङ्ग ल्याउनुभयो । सहकारी संस्थाहरुमा त एकपछि अर्को समस्या आइरहेको छैन र ?
“सहकारी सिद्धान्त तथा मूल्य मान्यता आफैमा समस्या होइन, समस्या अभ्यासको कमीमा छ”
अभ्यास पुस्तकमा सहकारीको प्रसङ्ग कुन रुपमा उल्लेख गर्न खोज्नुभएको हो ?
मूलतः अभ्यास तथा अभ्यास काव्ययात्रा पुस्तकमा हरेक व्यक्तिले आफ्नो आफ्नो जैविक यन्त्रमा अभ्यास गर्नु किन अनिवार्य छ भन्ने तथ्यलाई नै पुष्टि गर्ने प्रयत्न गरिएको छ । हरेक व्यक्तिले आफ्नो आफ्नो जैविक यन्त्रमा अभ्यास गर्न खास निकाय तथा संगठनको आवश्यकता पर्दछ । त्यस्तो अभ्यास गर्ने निकाय तथा संगठनको लागि आवश्यक कतिपय पूवशर्तहरु हाल संचालनमा रहेका सहकारी संस्थाहरुमा समेत विद्यमान रहेकोले आजका सहकारी संस्थाहरु नै भोलिका अभ्यास केन्द्रको रुपमा परिणत हुन सक्ने संभावना अभ्यास पुस्तकमा उजागर गरिएको छ । त्यसै गरी मानव प्राणीले अपेक्षा गरेको परिवर्तन हासिल गर्न जस्तो मानव अन्तरसम्बन्धको स्वरुप तथा संगठनात्मक स्वरुपको आवश्यकता छ,
त्यस्तो स्वरुपका लागि आवश्यक कतिपय पूर्वशर्तहरु पनि हाल संचालनमा रहेका सहकारी संस्थाहरुमा केही हदसम्म विद्यमान छन् । यिनै सहकारी संस्थाहरु नै भोलिको अपेक्षित परिवर्तनका लागि अपेक्षित संगठनात्मक निकायको रुपमा रुपान्तरण गर्न तथा विकसित गर्न सकिने उपाय अभ्यास पुस्तकमा उल्लेख गरिएको छ र अभ्यास काव्ययात्रा पुस्तकमा सोही विषयवस्तुलाई उत्प्रेरणात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
जसरी परिवार भित्र बच्चा जन्मिन्छ र हुर्किएर परिपक्व बन्दछ, त्यसै गरी सहकारी भित्र सहकारीका आफ्ना सदस्यहरुमा उद्यमशीलता जन्माउने र ती साना उद्यमीहरुबिच आपसमा एक अर्कालाई साथ, सहयोग र हेरचाह गरेर परिपक्व उद्यमी बन्ने बनाउने काम सम्भव हुनसक्छ । सहकारी भित्र सदस्यहरु आपसमा मिलेर कसरी परिपक्व उद्यमी बन्न सक्छन् भन्ने आधार अभ्यास पुस्तकमा स्पष्ट पारिएको छ । सोही उत्प्रेरणामूलक सन्देश अभ्यास काव्ययात्रामा पनि प्रस्तुत गरिएको छ ।
त्यसो भए अभ्यास पुस्तक र अभ्यास काव्ययात्रा कतै सहकारी जागरण सम्बन्धी पुस्तक भन्न मिल्छ ?
अभ्यास पुस्तकले जीवन र जगत्को अपेक्षित परिवर्तनको खाका सम्पूर्णतामा कोेरेको छ । त्यस्तो अपेक्षित परिवर्तनको बाटोमा आजका सहकारीको रुपान्तरण तथा परिवर्तनलाई सम्बोधन नगरी अभ्यास तथा अभ्यास काव्ययात्रा पूर्ण हुन सक्दैन थियो नै । संगसंगै हाल विद्यमान निजी क्षेत्र, राज्य संगठन तथा गैरसरकारी निकायहरु कुन प्रयोजनको निम्ति कसरी रुपान्तरित हुनुपर्ला भन्ने पनि अभ्यास पुस्तकबाट अन्तर्दृष्टि प्राप्त हुन्छ नै । मूलतः हरेक व्यक्ति कसरी रुपान्तरित हुँदा मानव प्राणीले अपेक्षा गरेको परिवर्तन सम्भव हुन्छ भन्नेमा नै अभ्यास पुस्तक र अभ्यास काव्ययात्रा पुस्तकको सारा ध्यान केन्द्रित छ ।
तपाईंले अघि सार्नुभएको बिचारको सान्दर्भिकता पुष्टि हुने आधार के देख्नुहुन्छ ?
मेरो निजी विचार वा मनगढन्ते विचार छन् भने त्यस्ता विचारहरु अपेक्षित रुपमा तथ्यपरक नभएसम्म सान्दर्भिक हुनसक्दैनन् । त्यसै गरी पुस्तकमा प्रस्तुत गरिएका विषयवस्तु कुनै व्यक्ति विशेष, कुनै समूह, वर्ग, लिंग, सम्प्रदाय वा जात विशेषको मात्र फाइदा हुने खालको छ भने त्यस्तो विषयवस्तु सान्दर्भिक हुनुपर्ने कारण हुँदैन । यदि मैले दुईमा दुई जोड्दा चार हुन्छ भनिरहेको छु भने होइन भन्नुपर्ने पनि कुनै कारण देखिदैन । अभ्यास पुस्तक र अभ्यास काव्ययात्रा पुस्तकमा उल्लेख गरिएका विषयवस्तुहरु वस्तुपरक अर्थात् तथ्यपरक भएको हदसम्म ती विषयवस्तुहरु सान्दर्भिक हुनुको विकल्प छैन । अभ्यास र अभ्यास काव्ययात्राले कुनै व्यक्ति, कुनै समूह, वर्ग, लिंग, सम्प्रदाय वा जात विशेषको नभई हरेक व्यक्तिको सामूहिक उत्थानमा केन्द्रित रहेकोले र हरेक पदार्थ र प्रकृतिको हितसँग समेत जोडिएकोले यो सबैको लागि उत्तिकै सान्दर्भिक छ । त्यसैले विश्वविद्यालय तथा अध्ययन केन्द्रहरु देखि कार्यान्वयन हुने सरोकारवाला निकायहरुमा यस विषयमा अध्ययन, छलफल तथा सान्दर्भिकताको विश्लेषण हुन सक्ने गरी पुस्तकलाई सार्वजनिक गरिसकेको पनि छु ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !