काठमाडौं । एक तिहाइ बढी घरपरिवार अझै बैंकिङ पहुँचबाहिर रहेको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयको घरपरिवार सर्वेक्षण तथ्यांकअनुसार कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये ३८.१० प्रतिशत परिवार बैंकिङ पहुँचबाहिर रहेको देखिएको छ।
राष्ट्रिय जनगणनाअन्तर्गतको घरपरिवार सर्वेक्षण तथ्यांकअनुसार कुल परिवारमा ४१ लाख २२ हजार ६ सय ९० परिवार अर्थात् ६१.८९ प्रतिशत बैंकिङ पहुँचमा रहेको पाइएको छ।६१.८९ प्रतिशत परिवारबाट कम्तिमा एकजना सदस्यको बैंकमा खाता रहेको पाइएको छ। यसमा सहकारीको तथ्यांक भने समावेश गरिएको छैन।
व्यक्तिगततर्फ भने २५.५६ प्रतिशत जनसंख्यामात्र बैंकिङ पहुँचमा छन्। अर्थात् २ करोड ९१ लाख ६४ हजार जनसंख्यामध्ये ७४ लाख ९ हजार १ सय ८१ जनाको कम्तिमा एउटा खाता रहेको छ। यो तथ्यांक पनि सहकारीबाहेकको हो।यसमा २६ प्रतिशत पुरुष र २४ प्रतिशत महिलाको बैंकिङ पहुँच रहेको छ।
बैंकिङ पहुँचभन्दा पनि ऋण लिनेको संख्या अझ न्यून रहेको तथ्यांकबाट देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयको विवरणअनुसार २५।५९ परिवारले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन्। सबैभन्दा धेरै मधेस प्रदेशमा ऋण लिनेको संख्या उच्च रहेको छ।
राष्ट्रिय जनगणनाको तथ्यांकबाट न्यून बैंकिङ पहुँच देखिए पनि राष्ट्र बैंकको तथ्यांकबाट भने खाता संख्या उच्च देखिएको छ। गएको असारसम्मको तथ्यांकअनुसार ५ करोड ११ लाख ७७ हजार ९ सय २३ खाता पुगेका छन्।
संघीयता कार्यान्वयनपछि प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने नीति आएपछि अहिले शाखा पहुँच विस्तार भएको छ। गएको भदौसम्म १ सय १२ वटा बैंक तथा वित्तीय संस्था रहेका छन्। भदौसम्म ११ हजार ५ सय ६७ वटा शाखा पुगेका छन्।
शाखा विस्तार भएर स्थानीय तहमा पहुँच बढे पनि घरपरिवारमा भने पहुँच बढेको छैन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !