काठमाडौँ । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन र अनुसन्धानको प्रयोजनका निम्ति आर्थिक तथ्यांक र सूचना आदानप्रदान गर्ने समझदारी भएको छ।
गभर्नर महाप्रसाद अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा शुक्रबार बैंकमा एक कार्यक्रमबीच समझदारी भएको हो। समझदारीपत्रमा बैंकका तर्फबाट आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरे।
समझदारीअनुसार आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयारीका लागि महासंघमा आबद्ध उद्योगहरूले प्रत्येक त्रैमासमा आवश्यक तथ्यांक र सूचना राष्ट्र बैंकलाई उपलब्ध गराउनेछन्। त्यसका निम्ति महासंघले उद्योगहरूसँग आवश्यकताअनुसार समन्वय र सहजीकरण गर्नेछ।
साथै, बैंकले समयसमयमा गर्ने आकस्मिक तथा विशेष अध्ययनका लागि आवश्यक पर्ने औद्योगिक तथ्यांक र सूचना जुनसुकै समयमा महासंघमा आबद्ध उद्योगहरूले बैंकलाई उपलब्ध गराउने समझदारी भएको छ।
महासंघ वा उद्योगले उपलब्ध गराउने तथ्यांक नेपाल सरकार वा राष्ट्र बैंकले अध्ययनरविश्लेषण तथा एकीकृत रूपमा प्रकाशन गर्ने प्रयोजनका लागि मात्र उपयोग गरिनेछ।
सम्बन्धित निकाय र उद्योगबाट प्राप्त तथ्यांक र सूचनाको पूर्णरूपमा गोपनीयता कायम गरिने दुईपक्षीय समझदारी छ ।त्यसरी उपलब्ध गराइएको तथ्यांक र सूचना बृहत् आर्थिक नीति निर्माण गर्ने प्रयोजनबाहेक व्यक्तिगत रूपमा अध्ययनरअनुसन्धान, प्रकाशन र अन्य कुनै पनि प्रयोजनका लागि उपयोग नगरिने समझदारी भएको छ।
तथापि, उद्योगरव्यवसायको पहिचान नहुने गरी प्रकाशित भएको तथ्यांक र सूचनाको उपयोगमा भने बाधा पर्ने छैन।
कार्यक्रममा गभर्नर अधिकारीले बैंक र महासंघबीचको समझदारीबाट तथ्यांक र सूचनाको आदानप्रदानमा सहजीकरण हुने उल्लेख गर्दै त्यसले बैंकका नीतिगत व्यवस्थाको तर्जुमा र कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
महासंघका अध्यक्ष ढकालले औद्योगिक क्षेत्रका तथ्यांक र सूचना नियमित रूपमा बैंकलाई उपलब्ध गराउन महासंघले समन्वय गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा वरिष्ठ डेपुटी गभर्नर डा। नीलम ढुंगाना तिम्सिना, बैंकका निर्देशकद्वय मुक्तिनाथ सापकोटा र नारायणप्रसाद पोख्रेल तथा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलगायत उपस्थित थिए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !