काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले डेढ अर्ब नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको तीन महिनामा बैंकले १ अर्ब ५२ करोड २२ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको असोज मसान्तसम्मको तुलनामा भने ३३.४६ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब १४ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा उच्च दरमा वृद्धि भएसँगै खुद नाफामा बढोत्तरी देखिएको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ९५.४० प्रतिशत अर्थात् २ अर्ब ३ करोड १५ लाख रुपैयाँले बढेर ४ अर्ब १६ करोड १० लाख ४१ हजार रुपैयाँ पुगेको छ । यता, संचालन नाफा पनि ५९.९० प्रतिशतले वृद्धि भई २ अर्ब ६० करोड ५४ लाख रुपैयाँ पुगेको छ । तर, बैंकको वितरणयोग्य नाफा भने ८५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।
बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २५ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ राखेको छ । गत वर्षको तुलनामा बैंकले यस्तो कोषको आकार ८.३७ प्रतिशतले बढाएको हो ।
समिक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह भने सामान्य वृद्धि भएको छ । बैंकको निक्षेप संकलन १.९१ प्रतिशतले वृद्धि भई ३ खर्ब ६१ अर्ब १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि ०.१९ प्रतिशतले मात्रै बढेर ३ खर्ब ४ करोड २४ करोड ४ लाख रुपैयाँ कायम भएको छ । तर, बैंकको खराब कर्जा भने ३.२६ प्रतिशतले बढेर ४.८३ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ३७ पैसा रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !