काठमाडौं। एसियाली विकास बैंक(एडीबी)ले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडीबीका नेपाल निर्देशक आर्नोड कुश्वाले बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगै आयोजनाको स्थलगत निरीक्षण गरी लगानी गर्ने प्रतिबद्धता जनाएका हुन्।
सुब्रमण्यमले आयोजना अगाडि बढाउन उच्च तहबाट भएको यो करिब करिब अन्तिम निरीक्षण भएको भन्दै एडीबीको नेतृत्वमा जतिसक्दो छिटो वित्तीय व्यवस्थापन गर्न लागिएको बताए। उनले ३८ वर्षदेखि चर्चामा रहेका आयोजनाको प्राविधिक, वातावरणीय र सामाजिक पक्षलाई जतिसक्दो छिटो टुंगो लगाएर निर्माणमा लैजानु पर्ने बताए।
टोलीले आयोजनाको जलाशय क्षेत्र र विद्युतगृहस्थलको निरीक्षण गर्दै बाँधस्थल खोटाङको रबुवा बजारमा स्थानीय तहका जनप्रतिनिधिसँग अन्तक्रिया गरेको थियो। आयोजनाको अनुमानित लागत २ अर्ब २० करोड अमेरिकी डलर (करिब २ खर्ब २५ अर्ब रुपैयाँ) छ। यसमध्ये १ अर्ब ६८ करोड डलर ऋण र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी छ।
आयोजनामा एडीबीको नेतृत्वमा विभिन्न अन्तर्राष्टिय वित्तीय संस्थाले एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी गर्नेछन्। एडीबीले ५५ करोड डलर सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ।
एडीबीका नेपाल निर्देशक कुश्वाले निर्णय प्रक्रियालाई तीव्रता दिन लगनशीलताका साथ काम गरिरहेको र नेपाल सरकारसँग संवाद भइरहेको बताए। उनले दूधकोसी जलाशययुक्त जलविद्युत आयोजना एक मेगा प्रोजेक्ट र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठूलो बाँध आयोजना भएको भन्दै स्थानीयलाई धैर्य गर्न आग्रह गरे।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालको विद्युत् प्रणालीका लागि दूधकोसी महत्वपूर्ण आयोजना भएको भन्दै एडीबीको नेतृत्वमा एक वर्षभित्र वित्तीय व्यवस्थापन गर्ने गरी काम भइरहेको बताए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !