काठमाडौं । दसैँका लागि बैंकिङ्ग प्रणालीबाट बाहिरिएको रकम बिस्तारै फर्किन थालेको छ । बैङ्कहरूबाट दसैँमा बाहिरिएको रकम बैंकिङ्ग प्रणालीमा फर्किएको हो ।
पछिल्लो एक दिनमै १० अर्ब रुपैयाँ बैंकिङ्ग प्रणालीमा भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार दसैँका लागि बाहिरिएको रकम भित्रिन थालेको हो । गत कात्तिक ९ गतेसम्ममा बैङ्क तथा वित्तीय संस्थामा ५८ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, त्यसको भोलिपल्ट नै १० अर्ब रुपैयाँ निक्षेप थपिएर ५८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ ।
वाणिज्य बैङ्कबाट एकै दिन ८ अर्ब रुपैयाँ निक्षेप भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । गत बिहीबारसम्म वाणिज्य बैङ्कहरूसँग ५१ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, शुक्रवारसम्म आइपुग्दा ८ अर्बले बढेर ५१ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ ।
बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण कर्जाको माग नभएको हो । अहिले बजारमा बस्तु तथा सेवाको माग घटेको छ । उपभोक्ताहरूको क्रय शक्ति पनि घटेको छ । अहिले दसैँ लगायतको चाडपर्वको माहोलले गर्दा पनि कर्जाको माग नभएको बताइन्छ । यता, घरजग्गा व्यवसाय पनि उत्साहजनक रूपमा बढ्न सकिरहेको अवस्था छैन । त्यसमाथि बैङ्क कर्जाको ब्याजदर पनि उच्च छ । यो अवस्थामा बैङ्कबाट महँगो दरमा ऋण लिए व्यवसाय गर्ने, घरजग्गा खरिदबिक्री गर्न सक्ने अवस्था पनि छैन । सोही कारण बैङ्कहरूमा कर्जाको माग नभएको बैङ्कहरू बताउँछन् । दसैँ लगायतका चाडपर्व सकिएपछि बिस्तारै कर्जाको माग बढ्ने उनीहरूको भनाई छ ।
गत शुक्रवारसम्म बैङ्क तथा वित्तीय संस्थाहरूले कुल ४९ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यता, वाणिज्य बैङ्कहरूले पनि कुल ४३ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । पछिल्लो समय निक्षेपको तुलनामा कर्जा विस्तार हुन सकिरहेको छैन ।
राष्ट्र बैङ्कका अनुसार अन्तर बैङ्क ब्याजदर ४.५८ प्रतिशत पुगेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) पनि घट्दै आएको छ ।हाल सिडी रेसियो ८१.७१ प्रतिशतको बिन्दुमा झरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरू हाल कर्जा लगानीका लागि सहज अवस्थामा देखिएका हुन् । बैङ्क तथा वित्तीय संस्थाहरूले सिडी रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरी कर्जा प्रवाह गर्न पाउँछन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !