काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखको वरीयताक्रम खोसिने भएको छ । नयाँ मर्यादा क्रमअनुसार काठमाडौँ महानगर प्रमुख र उपप्रमुखको पनि देशभरका अरू महानगरपालिकासरह नै मर्यादा हुने प्रस्ताव अघि बढाइएको हो।
यो प्रस्तावसहितको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिबाट पारित गरिएको छ । सोमबार समितिले प्रतिवेदनसहितको उक्त विधेयक मङ्गलवार राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ।
हाल काठमाडौँ महानगरपालिका प्रमुखको वरीयताक्रम दशौँ नम्बरमा छ । अहिले दशौँ वरीयतामा काठमाडौं महानगर प्रमुखसँगै नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य, नेपाल सरकारका पूर्वमन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेशका मन्त्री, प्रधानसेनापति लगायत छन् ।
हाल ११औँ नम्बरमा काठमाडौँ बाहेक अरू सबै महानगरपालिका प्रमुखको वरीयता कायम छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा महानगरपालिका प्रमुखको मर्यादा १७ औं स्थानमा राखिएको छ । प्रस्तावित विधेयक जस्ताको तस्तै राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भए काठमाडौंसहित देशैभरिका महानगरका मेयरको मर्यादाक्रम एकै लहरमा रहनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !