काठमाडौँ । दशैं लगत्तै विभिन्न पाँच कम्पनीले झण्डै ८ अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्दै छन्। लगानीकर्ताले दशैंको दक्षिणा जोगाएर उक्त कम्पनीको आईपीओमा लगानी गर्न सक्नेछन्।
नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाइसकेका यी पाँच कम्पनीले दशैंलगतै सर्बसाधारणमा आईपीओ जारी गर्ने भएका हुन्।
भिजन लुम्बिनी उर्जा, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेरहाउजिङ कम्पनी, हिमालयन रि इन्स्योरेन्स र सर्बोत्तम सिमेन्टले धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन्।
यी मध्ये भिजन लुम्बिनी उर्जाले सर्वसाधारणमा दशैँ लगतै आईपीओ जारी गर्ने गरी सूचना निकालेको छ। कम्पनीले कात्तिक १६ गतेदेखि सर्बसाधारणमा आईपीओ जारी गर्ने भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता शेयर सहित गरी कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
यसैगरी सर्बोत्तम सिमेन्टले पनि दशैं लगतै सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ। सिमेन्टले बुक विल्डिङको माध्यमबाट २४ लाख कित्ता शेयर बिक्री गर्ने तयारी गरेको हो।हिमालयन रि इन्स्योरेन्सले ६ अर्ब २४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न गर्ने अनुमति पाइसकेको छ। उसले ३ करोड कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो।
यसैगरी मुक्तिनाथ कृषि कम्पनीले १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ जारी गर्न लागेको छ।नेपाल वेरहाउजिङ कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्न लागेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !