काठमाडौं । नेपाल आयल निगमले इन्धन भर्नका लागि दसैं बिदामा डिपोहरु संचालन गर्ने भएको छ। दसैं बिदामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन समय तालिका मिलाएर निगमले डिपोहरु खुला राख्न लागेको निगमले जनाएको छ।
निगमले दसैंको सार्वजनिक बिदामा ११ वटा डिपोबाट इन्धन वितरण गर्ने तालिका मिलाएको छ। प्रादेशिक डिपोहरु संचालन हुँदा आवश्यकताका आधारमा पेट्रोल पम्पहरुले इन्धन खरिद गरेर उपभोक्तालाई बिक्री गर्न सहज हुन्छ।
निगमको कोशी प्रदेशको डिपो विराटनगर र मधेश प्रादेशिक कार्यालय आलेखगञ्जले कात्तिक ४ र ९ गते इन्धन बिक्री गर्नेछ।यस्तै, निगमको बागमती प्रादेशिक कार्यालय थानकोटमा कात्तिक ४, ६ र ९ गते र गण्डकी कार्यालय पोखरामा कात्तिक ५ र ९ गते डिपो खुला हुने निगमले जनाएको छ। साथै लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा ४, ६ र ९ कात्तिकमा इन्धन बिक्री गर्ने मिति तोकेको छ।
निगमका अनुसार कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले कात्तिक ४ मा र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीले कात्तिक ५ र ८ गते इन्धन बिक्री गर्नेछ। यस्तै शाखा कार्यालयहरु चारआली कात्तिक ४ र ९ गते, धनुषाले कात्तिक ४ र ८ गते, वीरगञ्जले कात्तिक ४ र ९ गते, नेपालगञ्जमा कात्तिक ५ गते इन्धन बिक्री गर्नेछन्।
इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए सम्पर्क गर्न भन्दै निगमले डिपो र शाखाका अधिकारीहरुको सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !