काठमाडौँ । इलाका प्रहरी कार्यालय बनेपाले राजस्व छली गरेर ल्याएको चिनीसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार अरनिको राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा धुलिखेल नगरपालिका–२ का ३७ वर्षीय राजु तिमल्सिनालाई अवैध रूपमा ल्याउँदै गरेको चिनीसहित पक्राउ गरेको हो ।
प्रहरीले अरनिको राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा तिमल्सिनाले चलाई ल्याएको ना ६ ख ६२१९ नम्बरको ट्रकभित्र धानको बोराले छोपेर ल्याएको ९२ बोरा चिनी र २८ बोरा धान फेला पारेको प्रहरीले जनाएको छ । ट्रकभित्र अन्दाजी पाँच लाख ९८ हजार रपियाँ बराबरको चिनी र ४२ हजार रुपियाँ बराबरको धान रहेको प्रहरीले जनाएको छ । तिमल्सिनाले उक्त चिनी र धानको बिल नदेखाएपछि प्रहरीले चिनी र धान बरामद गरी तिमल्सिनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !