काठमाडौँ । सरकारले युरोपेली मुलुक रोमनिया र जर्मनीपछि थप चार युरोप मुलुकमा श्रम सम्झौताको तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रोमनिया र जर्मनीपछि सेसेल्स, साइप्रस, पोर्चुगल र माल्टामा श्रम समझदारी गर्ने तयारी भइरहेको बताए ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले नयाँ–नयाँ गन्तव्यको खोजी गरी रोजगारीको सुनिश्चित गरिरहेको उनको भनाइ छ ।सरकारले हालै मात्र रोमनिया र जर्मनीसँग श्रम समझदारी गरेको छ । सरकारले युरोपेली मुलुकमा सम्भावित देशहरुसँग कसरी सहकार्य गर्ने भनेर अध्ययन गरिरहेको छ,’ उनले भने, ‘अध्ययका क्रममा सेसेल्स, साइप्रस, पोर्चुगल र माल्टासँगको समझदारीका लागि छलफल भइरहेको छ ।’
मन्त्री भण्डारीले युरोपेली मुलुकमा नेपालबाट अस्पताल, पूर्वाधार निर्माण, केयर गिभर र कृषि क्षेत्र निकै सम्भावितको क्षेत्र भएकाले दक्ष कामदार पठाउन सकिने जिकिर गरे ।
सरकारले विभिन्न देशका राजदूतहरुसँग छलफल गरेर रोजगारीको सम्भावित क्षेत्र र देश पहिचान गरी तीब्र श्रम समझदारीको कार्य अगाडि बढाएको उनले जानकारी दिए ।त्यस्तै, सरकारले पछिल्लो समय गन्तव्य मुलुकमा नेपालीहरुको सामाजिक सुरक्षाको अवस्थालाई प्राथमिकता राखेको बताए । मन्त्रीकाअनुसार कामदारको पहिलो प्राथमिकता भनेको सामाजिक सुरक्षा हो । त्यसमा त्यहाँको नागरिकसरह नेपाली नागरिकले सुरक्षा पाउँछ वा पाउँदैन । त्यस विषयमा अध्ययन गरेर श्रम समझदारीको कार्य अगाडि बढाउँनेछ ।
अहिले गन्तव्य मुलुकहरुले दक्ष कामदार लैजानेमा जोड दिएकाले सरकारले पहिलो प्राथमिकता तालिम र भाषालाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !