काठमाडौँ । दशैंको महिना असोजमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या करिब ५१ हजार पुगेको छ ।परिवारका सबै सदस्य सँगै बसेर चाडपर्व मनाउने नेपालीको प्रचलन हो । तर, स्वदेशमा रोजगारीका अवसर नपाएपछि सबै छोडेर युवाहरु कामका लागि विदेशिन बाध्य भएका छन् ।
चालु आर्थिक वर्षको असोजमा वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिने युवाको संख्या ५० हजार ९०५ पुगेको छ । गत वर्षको असोजमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ६२ हजार ७०६ थियो । यसैगरी गत आर्थिक वर्षको साउन, भदौ र असोजमा २ लाख २ हजार विदेशिएकामा चालु आवको पहिलो ३ महिनामा यो संख्या १ लाख ५७ हजारमा झरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार असोज २८ सम्ममा ४४ हजार ६८५ पुरुष र ६ हजार २२० महिलाले वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका छन् ।
गत आर्थिक वर्षको पहिलो ३ महिनामा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको संख्या लगभग २२ प्रतिशतले घटेर १ लाख ५७ हजारमा सीमित भएको छ । पछिल्लो समय विश्वव्यापी आर्थिक मन्दीका कारण श्रम गन्तव्य देशमा रोजगारीका क्षेत्रमा संकुचन आएपछि रोजगारीका लागि जानेको संख्या घटेको हो । वैदेशिक रोजगारीको इतिहासमा गत आर्थिक वर्षको भदौ महिनामा सबैभन्दा बढी ७६ हजार ४०३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रमस्वीकृति लिएका थिए । यो संख्या वैदेशिक रोजगारीको तथ्यांक राख्न शुरु गरेयता २९ वर्षकै उच्च हो ।
चालु आवमा भने यो संख्या औषत ५० हजारमा सीमित भएको छ । यो वर्षको साउन र भदौको तुलनामा असोजमा विदेश जान श्रमस्वीकृति लिनेको संख्या अझ घटेको छ । मलेसिया जाने नेपाली श्रमिकको संख्या घटेसँगै यो वर्षको शुरुमा वैदेशिक रोजगारीमा जानेको संख्यामा धक्का लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । गत वर्ष साउदी अरब गएका श्रमिक पनि मलेसिया जाने क्रम बढेका कारण समग्र वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएको भए पनि हाल मलेसियाले विदेशी श्रमिक कोटा बन्द गरेको असर नेपालीलाई परेको छ । गत वर्ष साउदी अरबमा रहेका श्रमिक पनि विभिन्न कारण देखाउँदै नेपाल फर्किएर पुनः मलेसिया जाने प्रवृत्ति देखिएका कारण संख्या वृद्धि भएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !