काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । यसैबीच काठमाडौंको हनुमान ढोकास्थित दसैं घरमा विधिवत रुपमा जमरा राखिएको छ ।
आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो ।यस अवसरमा अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाई गरिएको छ ।
दसैंको पहिलो दिन घटस्थापनको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । आइतबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा पवित्र स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दसैं घरमा जमरा छर्ने गरिन्छ ।
घटस्थापना गर्दा पूजाकोठा वा दसैं घरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आहृवान गरी पूजाअर्चना गरिन्छ ।
नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रहृमचारिणी, तेस्रो दिन चन्ऽघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।
विशेषतः जमरा जौको राख्ने गरिन्छ । तर, आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !