काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।शेयर बजार लगानीकर्ताहरुले शुक्रवार धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ तथा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलविरुद्ध आयोगमा उजुरी दिएका हुन् ।
लगानीकर्ताहरुले इन्स्योरेन्स कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन दिएर चार जनाले कमिसन खाएको भन्दै १६ जना लगानीकर्ताले सामूहिक रुपमा आयोगमा उजुरी दर्ता गरेका हुन् । उजुरीमा बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको उल्लेख छ । उनीहरुले चारै जनालाई प्रचलित कानुनबमोजिम हदैसम्म कारबाही गर्न माग गरेका छन् ।
‘बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्थाविपरीत अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको हुँदा छानबिन गरी संलग्न दोषीउपर प्रचलित कानुनबमोजिम हदैसम्म कारबाही गरी पाउन यो उजुरी दिएका छौं’ उजुरीमा भनिएको छ ।
बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि बीमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयरको अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।
उजुरीमा बोर्डका अध्यक्ष हमाल, कार्यकारी निर्देशक श्रेष्ठ, प्राधिकरणका अध्यक्ष सिलवाल र कार्यकारी निर्देशक पौडेललगायत ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्थाविपरीत अख्तियारको दुरुपयोग गरी सिटिजन लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र रिलायबल लाइफसहित चारवटा बीमा कम्पनीलाई अंकित मूल्यभन्दा बढी रकम सर्वसाधारणबाट माग गर्न दिने गरी आह्वान पत्र स्वीकृत गरी कानुनविपरीतको कार्य र अख्तियार दुरुपयोग गरेको उल्लेख छ ।
उनीहरुले हिमालयन रि(इन्स्योरेन्सलाई अंकित मूल्यभन्दा बढी सर्वसाधारणबाट रकम माग गर्ने गरी आह्वान पत्र स्वीकृत गर्ने अन्तिम तयारी गरेकाले यसअघि भए गरेका गैरकानुनी कार्यहरु बदर गराउन, हुन लागेका गैरकानुनी कार्य रोकिपाउन र जो(जो संलग्न छन्, दोषीउपर प्रचलित कानुनअनुसार हदैसम्म कडा कारबाही गर्न माग गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !