काठमाडौँ । “सहकारी सिद्धान्त तथा मूल्य मान्यता आफैमा समस्या होइन, समस्या अभ्यासको कमीमा छ” विकास र सशक्तीकरण क्षेत्रमा आफ्नो ज्ञान तथा अनुभव बटुल्दै आएका, विकास तथा सशक्तीकरणमा आधारित रहेर नै गत वर्षमात्र ‘अभ्यास’ पुस्तक र हालै ‘अभ्यास काव्ययात्रा’ गरी दुई वटा पुस्तक पाठक माँझ ल्याएका लेखक तथा कवि बाबुराम भुसालसँग उक्त प्रकाशित पुस्तकमा उल्लेख गरिएका सहकारिता सम्बन्धी विषयवस्तु बारे गरिएको छोटो कुराकानीको क्रममा उनले यस्तो जवाफ दिएका हुन् ।
हुन त उनको पुस्तकले आफैमा बहुआयामिक विधा समेटेको हुनाले सहकारीलाई मात्र अध्ययनको विषय बनाएका छैनन् । मानव प्राणीले अपेक्षा गरेको परिवर्तन हासिल गर्नको लागि सहकारिता पनि छुटाउनै नमिल्ने पाटो भएकोले सहकार्य र सहकारिता भित्रैबाट आजको सहकारीमा देखिएका दुरावस्था समाधान गर्न सकिने उपाय भने उनले आफ्ना पुस्तकमा औल्याएका छन् ।
मूलतः अभ्यास तथा अभ्यास काव्ययात्रा पुस्तकमा हरेक व्यक्तिले आफ्नो आफ्नो जैविक यन्त्रमा अभ्यास गर्नु किन अनिवार्य छ भन्ने तथ्यलाई नै पुष्टि गर्ने प्रयत्न गरिएको छ । उनको अनुसार हरेक व्यक्तिले आफ्नो आफ्नो जैविक यन्त्रमा अभ्यास गर्न खास निकाय तथा संगठनको आवश्यकता पर्दछ । त्यस्तो अभ्यास गर्ने निकाय तथा संगठनको लागि आवश्यक कतिपय पूवशर्तहरु हाल संचालनमा रहेका सहकारी संस्थाहरुमा समेत विद्यमान रहेकोले आजका सहकारी संस्थाहरु नै भोलिका अभ्यास केन्द्रको रुपमा परिणत हुन सक्ने संभावना अभ्यास पुस्तकमा उजागर गरिएको छ ।
त्यसै गरी मानव प्राणीले अपेक्षा गरेको परिवर्तन हासिल गर्न जस्तो मानव अन्तरसम्बन्धको स्वरुप तथा संगठनात्मक स्वरुपको आवश्यकता छ, त्यस्तो स्वरुपका लागि आवश्यक कतिपय पूर्वशर्तहरु पनि हाल संचालनमा रहेका सहकारी संस्थाहरुमा केही हदसम्म विद्यमान छन् । यिनै सहकारी संस्थाहरु नै भोलिको अपेक्षित परिवर्तनका लागि अपेक्षित संगठनात्मक निकायको रुपमा रुपान्तरण गर्न तथा विकसित गर्न सकिने उपाय अभ्यास पुस्तकमा उल्लेख गरिएको छ र अभ्यास काव्ययात्रा पुस्तकमा सोही विषयवस्तुलाई उत्प्रेरणात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
जसरी परिवार भित्र बच्चा जन्मिन्छ र हुर्किएर परिपक्व बन्दछ, त्यसै गरी सहकारी भित्र सहकारीका आफ्ना सदस्यहरुमा उद्यमशीलता जन्माउने र ती साना उद्यमीहरुबिच आपसमा एक अर्कालाई साथ, सहयोग र हेरचाह गरेर परिपक्व उद्यमी बन्ने बनाउने काम सम्भव हुनसक्छ । सहकारी भित्र सदस्यहरु आपसमा मिलेर कसरी परिपक्व उद्यमी बन्न सक्छन् भन्ने आधार अभ्यास पुस्तकमा स्पष्ट पारिएको छ । सोही उत्प्रेरणामूलक सन्देश अभ्यास काव्ययात्रामा पनि प्रस्तुत गरिएको छ ।
कुनै पनि परिवारमा त्यस परिवारभित्र रहेका सबै सदस्यको सामूहिक स्वामित्व हुन्छ । त्यसैले परिवारभित्र रहेका सबै सदस्यहरुले आपसमा शिक्षाको मात्र आवश्यकता परिपूर्ति गर्ने, स्वास्थ्यको आवश्यकता परिपूर्ति नगर्ने भन्ने हुँदैन वा स्वास्थ्यको आवश्यकता परिपूर्ति गर्ने शिक्षाको आवश्यकता परिपूर्ति नगर्ने भन्ने हुँदैन । अर्थात् परिवारभित्र रहेका सदस्यहरु एक आपसमा मिलेर गास, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका सबैजसो आवश्यकताहरु परिपूर्ति गर्न क्रियाशील हुन्छन् । त्यसै गरी परिवार परिवारहरु मिलेर बनेको सहकारी संगठनले पनि आफ्ना क्रियाकलापलाई बचत तथा ऋणमा मात्र वा कुनै एक वा केही क्षेत्रमा मात्र सीमित नराखी सदस्यहरुका सबैजसो आवश्यकता एक आपसमा मिलेर परिपूर्ति गर्ने तर्फ नै परिलक्षित हुन सम्भव छ । त्यो कसरी र किन सम्भव छ भन्ने कुरा अभ्यास पुस्तकमा स्पष्ट पारिएको छ ।
त्यसो त आजका सहकारी संस्थाहरुमा अनेकौँ अप्ठ्यारा तथा चुनौतीहरु विद्यमान छन् । ऋण लगानी तथा बचत संकलनमा नै अनेकौँ बेथिति छन् । यसको मतलव ऋण लगानी, बचत संकलन, लेखा व्यवस्थापन, सहकारी संचालन प्रक्रिया नजानेर ती बेथिति देखापरेका होइनन्, बरु ती संस्थाहरुमा कायम हुन गएको व्यक्तिगत स्वार्थ, अस्वस्थ प्रतिस्पर्धा, गुटगत भावना, पक्ष र प्रतिपक्षको भावना, एक पक्षले अर्को पक्षलाई सहयोग नगरी अप्ठ्यारो सिर्जना गर्ने भावना रहनु, सदस्यहरुले आफूलाई शेयर मालिक ठान्ने नभई ग्राहक तथा सेवाग्राही मात्र ठान्ने प्रवृति हुनु र संस्थागत प्रणालीभन्दा पनि व्यक्ति व्यक्तिका मनोगत प्रवृतिहरु हावी हुँदै जानु जस्ता कारणहरु बढी जिम्मेवार रहेको देखिन्छ ।
समाधानको लागि तालिम तथा गोष्ठीहरु आयोजना नगरिएका होइनन्, पुस्तकहरु नलेखिएका होइनन् । सामान्यतया सहकारी सम्बन्धी लेखिएका पुस्तकहरु सहकारीको विषयमा सूचना तथा जानकारी दिने र सहकारी सम्बन्धी विश्लेषणमा आधारित छन् । व्यक्ति व्यक्तिको स्वभावमा तथा लतमा सहकारिता प्रवेश गर्नै बाँकी छ, जसको लागि हरेक व्यक्तिले आफ्नो आफ्नो जैविक यन्त्रमा अभ्यास गर्नुको विकल्प छैन । एक अर्काबिच प्रतिस्पर्धा होइन, परिपुरकता कायम हुनुपर्ने छ, व्यक्तिवादिता होइन, सामूहिकता तथा सामुदायिकता कायम हुनुपर्ने छ, परनिर्भरता होइन अन्तरनिर्भरता कायम हुनुपर्ने छ, जुन व्यक्ति व्यक्तिले गर्ने कार्यमा अभिव्यक्त हुनुपर्नेछ, त्यो बाँकी नै छ ।
अभ्यास र अभ्यास काव्ययात्रा पुस्तकको माध्यमबाट यस्तै अन्तर्दृष्टि हरेक व्यक्ति व्यक्तिमा पैदा गर्ने प्रयत्न गरिएको छ । सहकारिताको अन्तर्दृष्टिमुखी पुस्तकहरु खासै नभएको अवस्था महसुस भएकोले अभ्यास र अभ्यास काव्ययात्रा पुस्तक मुख्यतया सहकारिता तथा सामुदायिकता सम्बन्धी अन्तर्दृष्टि पैदा गर्ने प्रयोजनमा पनि परिलक्षित छ, अभ्यास र अभ्यास काव्ययात्रा पुस्तक यतिखेर लेखिदै आएका पुस्तकहरुको विकल्पको रुपमा होइन परिपुरकको रुपमा भूमिका निर्वाह गर्न सकोस् भन्ने अभिप्राय हो ।
(अभ्यास तथा अभ्यास काव्ययात्रा पुस्तकका लेखक बाबुराम भुसालसँग गरिएको कुराकानीको अंश)
(लेखक बाबुराम भुसालसँग गरिएको कुराकानीको अंश)
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !