मोरक्काबाट ,
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाइरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरेका छन्।
कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युङसँगको दुईपक्षीय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाइरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताए। ‘नेपाल लगानी गरेका भारतिय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतिय कम्पनी आइटीसी ईण्डिया मात्रै नभै मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाइरहेका छन्’, मन्त्री महतले कोरियन उपप्रधानमन्त्रीलाई भने, ‘हामीहरुले चालू आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रको लगानीलाई थप सहजीकरण गर्ने प्रयास गरेका छौँ। आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ। कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौँ।’
नेपाल सरकारले इज अफ डुइङ विजनेसमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले बताए। ‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरिसकेको छ’, महतले भने, ‘जलविद्युत उत्पादन, प्रशारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ।’
नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धिमा पनि सहयोग गर्न आग्रह गरेका हुन्। ‘अहिले तपाइँहरु संघर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनु हुन्छ। हाम्रो देशमा पर्यटन विकासको ठूलो सम्भावना छ। तर, कमजोर सडक पूर्वाधारले समस्या भईरहेको छ’, मन्त्री महतले भने, ‘निजी क्षेत्रले दीर्घकालनमा लाभ दिने सडक जस्ता क्षेत्रमा लगानी गर्दैनन्। कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ।’
मन्त्री महतसँगको भेटमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताउनु भएको छ। भेटमा कोरियन अर्थमन्त्री चु क्यूङले ६० वर्षमा कोरिया प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुर्याउने अवस्थामा पुगेको भन्दै निरन्तर प्रयास गर्दा आर्थिक वृद्धि सम्भव हुने बताए। उनले केही कोरियन लगानीमा दोहारो कर सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गरे।
जवाफमा मन्त्री महतले दोहोरो कर सम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री महतले कोरियाका उपप्रधानमन्त्री महतलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरे। उपप्रधानमन्त्री चु क्यूङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथासक्य छिटो अजेन्डा तय गर्न आग्रह गरे। अर्थमन्त्री महतले १२ हजार नेपालीले काम गरिरहेको कोरियाको श्रम कानुन राम्रो भएको भन्दै प्रशंसा गरे। भेटमा कोरियाका अर्थमन्त्री महतले नेपालका जनताको जिवनस्थर सुधार गर्न आफूहरु सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताए।
नेपालले जलविद्युत परियोजना निर्माणमा राम्रो प्रगती गरे पनि कमजोर प्रशारण लाइनले जलविद्युत क्षेत्रबाट पर्याप्त लाभ लिन नसकेकाले नेपालको प्रशारण लाइन निर्माणमा लगानी गर्न आग्रह गरे।
बैठकका क्रममा केरियन अर्थमन्त्रीले सन् २०३० मा कोरियाको बुसनले वल्र्ड एक्सपो आयोजना गर्न खाजेको भन्दै नेपाललाई सहयोग गर्न आग्रह गरे। इटलीको रोम, साउदी अरेबियाको रियाद र कोरियाले सन् २०३० को एक्सपो आयोजना गर्न प्रतिस्पर्धा गरिरहेका छन्। जबाफमा मन्त्री महतले एक्सपो आयोजना गर्न कोरिया सक्षम भएको भन्दै कोरियनको आवेदनलाई समर्थन गर्ने विषयमा सकारात्मक छलफल गर्ने बताए।
कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्युङलाई अर्थमन्त्री महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सीधा उडान अनुमति दिन माग गरे। कोरियन एयरलाइन्सले नेपालमा सीधा उडान गरिरहँदा नेपाल वायु सेवा निगमलाई पनि सीधा उडान गर्न दिनुपर्नेमा जोड मन्त्री महतले बताए।
अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० र विश्व बैंकको संयुक्त बैठकमा भाग लिन मोरक्कोको मराकेस पुगेका अर्थमन्त्री महतले कोरियाली अर्थ मन्त्रीसँग साइडलाइनमा वार्ता गरेका हुन्। ‘कोरियाबाट एउटा मात्रै वायूसेवा कम्पनीले उडान गर्दा कोरिया र नेपालको हवाई भाडा महँगो छ। एउटै कम्पनीले एकाधिकारले हवाई भाडा महँगो हुँदा कोरिया रहेका नेपालीहरुले अन्य देश भएर आउनु परेको छ’, उनले भने, ‘नेपाल वायुसेवा निगमले नयाँ विमान खरिद गरेको छ। नेपाली कम्पनीलाई पनि सिधा उडान गर्न दियो भने प्रतिस्पर्धाले हवाई भाडा घट्ने थियो। त्यसले नेपाली नागरिकका साथैं नेपाल घुम्न आउने कोरियन नागरिकलाई समेत सहज हुने थियो।’
नेपाल वायु सेवा निगमलाई कोरियामा उडान अनुमति दिन अर्थमन्त्री महतको आग्रहपछि कोरियाका उपप्रधान तथा अर्थ मन्त्रीले कोरियाली उड्डन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडान गर्न दिनुपर्ने विषय पुर्याउने बचन दिएका छन्। ‘तपाइँले भनेको विषयमा म सकारात्मक छु,’ अर्थमन्त्री क्युङले भने, ‘कोरियाली सम्बन्धी निकायमा म यो विषय पुर्याउनेछु।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !