काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB)ले आज (असोज २५ गते) देखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।
लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका १ लाख २३ हजार ८१६।४५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। सो शेयरका लागि लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि कात्तिक ९ गतेसम्म लम्बिनेछ।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
मिर्मिरे लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०६३ बमोजिम २०६६ पुस २ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो। लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार २०७६ असोज ७ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृती प्राप्त गरी ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा २०६७ असोज २५ गतेदेखि आफ्नो वित्तीय कारोबार सञ्चालन गर्दै आइरहेको छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !