काठमाडौं । सरकारले जर्मनीमा पनि सरकारी कोटामा नेपाली कामदार जान पाउने गरी जर्मनी सरकारसँग सम्झौता गरेको छ । बेलायत र रोमानियापछि सरकारले जर्मनी पनि सरकारी कोटामा जान पाउने गरी सरकारी सम्झौता गरेको हो ।
सामाजिक सुरक्षाको सुविधासहित उच्च आम्दानी हुने गरी रोजगारीका लागि सरकारले जर्मनीसँग आज सम्झौता गरेको हो ।
श्रममन्त्रालयका सहसचिव राजिव पोखरेलले जर्मनीसँग नेपालले आज श्रम समझदारीपत्रमा हस्ताक्षर गरेको बताए । उनकाअनुसार नेपालबाट गएका टोलीले रोजगारीको आकर्षक गन्तव्य बनेको रोमनिया र जर्मनीसँग श्रम समझदारी गर्ने योजना बनाएको थियो । सोहीअनुसार जर्मनीसँग औपचारिक रुपमा श्रम समझदारी गरेको हो ।
जर्मनीसँग श्रम समझदारी भएसँगै नेपालबाट जीटुटीमार्फत नेपाली कामदार सहजै जर्मनी जान पाउनेछन् । हाल पनि नेपाली नागरिकहरु लाखौं खर्चेर जर्मनी पुगिरहेको अवस्थामा सरकारले रोजगारीको सम्भावित देशसँग समझदारी गरेर वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएको मन्त्रालयले जनाएको छ ।
सहसचिव पोखरेलले जर्मनीले नेपालबाट प्रशिक्षर्थी श्रमिक लैजाने गरी समझदारी गर्ने तयारी गरेको बताए । उनकाअनुसार नेपाली श्रमिकहरुलाई जर्मनीले एक वर्ष व्यवसायिक तालिम प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराउनेछ ।
हालसम्म कुन क्षेत्रमा प्रशिक्षार्थी लैजाने भन्नेबारे कुनै निश्चित भएको छैन । सम्झौतापश्चात् भने कस्तो क्षेत्रमा कति कामदार लैजाने हो भन्ने बारेमा स्पष्ट हुनेछ । त्यसमा रोजगारीको क्षेत्रमा माग भएअनुसारको कामदार पठाइने छ ।
जर्मनीसँग हुन लागेको सम्झौताअनुसार नेपाली श्रमिक निःशुल्क जान पाउनेछन् । सरकारले जाने खर्चदेखि रोजगारीमा रहेको बेलाको खाने, बस्ने निःशुल्क हुने छ । रोजगारीमा जानका लागि आवेदकले अनिवार्य जर्मनी भाषा केन्द्र गोथेको परीक्षामा पास हुनुपर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !