काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा बृहत् आर्थिक बहस गर्ने भएको छ ।
महासंघले बिहीबार बिहान ९ बजेदेखि राजधानीको र्याडिसन होटलमा बृहत् आर्थिक बहस आयोजना गर्न लागेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
‘अर्थतन्त्र गम्भीर समस्यामा छ, यो समस्याबाट उन्मुक्ति मिल्नेगरी हामीले बिहीबार प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यमा राष्ट्रिय आर्थिक बहसको आयोजना गरेका छौं,’ अध्यक्ष ढकालले क्लिकमान्डुसँग भने, ‘सरकारका तर्फबाट अहिलेको समस्या समाधान गर्ने केही विशेष घोषणा हुने हाम्रो अपेक्षा छ ।’
महासंघले आयोजना गर्नेको उक्त आर्थिक बहसमा प्रधानमन्त्री, मुख्यसचिव, अर्थ मन्त्रालय र राष्ट्र बैंक, उद्योगमन्त्री, वाणिज्य तथा आपूर्तिमन्त्री, राष्ट्रिय योजना आयोग र अन्य सरोकारवाला सरकारी निकायका अधिकारीहरुको उपस्थिति हुनेछ ।
त्यसैगरी, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शको पनि उपस्थिति रहनेछ । कार्यक्रममा अर्थशास्त्री प्रा. डा. अच्यूत वाग्लेले पेपर प्रेजेन्ट गर्नेछन् ।
‘अर्थतन्त्र गम्भीर संकटमा पुगेको छ, हामीले प्रधानमन्त्री तथा सरकारबाट अहिलेको समस्या सम्बोधन गर्ने विशेष घोषणा हुने अपेक्षासहित यो वृहत् आर्थिक बहसको आयोजना गरेका हौं,’ महासंघ अध्यक्ष ढकालले भने ।
सरकारी निकायहरुबीच तालमेल नमिल्दा अर्थतन्त्रमा संकट थपिएको ढकालले बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !