काठमाडोँ । परराष्ट्र मन्त्रालयले इजरायल घटनाका मृत्यु भएका नेपालीको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको बताएको छ। मन्त्रालयले विज्ञप्ति जारी गरी मृतकहरूको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको जानकारी दिएको हो। इजरायलमा शनिवार भएको आतङ्कवादी हमलामा १० जना नेपालीको मृत्यु भएको छ। इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतङ्कवादी समूहको आक्रमणमा गरी १० जना नेपालीको मृत्यु भएको छ।
शव पहिचान गरी तत्काल नेपाल ल्याउन र घाइतेको उद्धार र उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध गरिसकेको पनि मन्त्रालयले बताएको छ । परराष्ट्र मन्त्रीको संयोजकत्वमा समन्वय संयन्त्रको गठन भएको र त्यसले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
हमासले शनिवार इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो। एकजना सम्पर्कविहीन छन्। दुई सिकिस्त रहेको र चार जना सुरक्षित रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
इजरायलमा भएको सो आक्रमण दशकौँपछिको ठुलो संख्याको हो । इजरायलमा हाल ४५०० नेपालीहरू केयर गिभरको रूपमा कार्यरत रहेका छन् । इजरायलमा हाल अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए ।
यसमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए। यी मध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरू दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा अध्ययनरत रहेका र उनीहरू नै आक्रमणमा परेको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !