काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले संस्थागत लगानीकर्ताबीचकै क्रसहोल्डिङका कारण बुक बिल्डङ प्रक्रियामार्फत सेयर निष्कासनमा अप्ठ्यारो परेको बताएका छन् । विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र ब्रोकर एसोसिएसनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
संस्थागत लगानीकर्ताहरूले कुनै धितोपत्रको सेयर कतिमा किन्न तयार हुन्छन्, त्यसैका आधारमा बुकबिल्डङ प्रक्रियामार्फत मूल्य निर्धारण हुन्छ । ‘तर बुक बिल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताभित्रको क्रसहोल्डिङ सबैभन्दा ठूलो चुनौतीका रुपमा देखियो,’ उनले बताए । त्यसले गर्दा यो लागू गर्न समस्या भएको हमालको तर्क छ ।
उनले सार्वजनिक निष्कासनमा बुक बिल्डिङ आफ्नो प्राथमिकतामा रहेको पनि बताए । बुक बिल्डिङका सन्दर्भमा उनले नेप्सेलगायत सबै सरोकारवालासँग बसेर छलफल गरेको र अहिले दुईवटा कम्पनीको आईपीओ यस विधिमार्फत ल्याउने गरी काम सुरु भएको उनले बताए ।
नेपाली लगानीकर्तामा वित्तीय साक्षरता धेरै कम भएको पनि अध्यक्ष हमालले बताएका छन् । ‘सबैले आईपीओ भर्नु पर्दैन । सबैले दोस्रो बजारमा सेयर कारोबार गर्नु पर्दैन । बजार विश्लेषण गरेर दोस्रो बजारमा कारोबार गर्ने हो । यो कुरा आम लगानीकर्तालाई बुझाउन जरूरी छ,’ उनले भने ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !