काठमाडौं। छिमेकी भारतसँग १० हजार मेगावाट बिजुली व्यापार सम्झौता मंसिरमा मात्र हुने भएको छ। नेपाल र भारत दुबै देशका ऊर्जा सचिवहरुको व्यस्तताले गर्दा बिजुली व्यापार सम्झौता सरेर तिहारपछि पुगेको हो।
दुबै पक्षको व्यस्तताले गर्दा तिहारपछि मात्र विद्युत व्यापार सम्झौता हुन लागेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बताए।
गत भदौ १८ गते भारत सरकारको मन्त्रिपरिषदले नेपालबाट १० हजार मेगावाटसम्म बिजुली किन्ने निर्णय गरेको थियो। सोही निर्णयलाई अन्तिमरुप दिन दुई देशबीच विद्युत व्यापार सम्झौता हुन लागेको हो। मन्त्रिपरिषदबाट स्वीकृत भएलगतै सम्झौता हुने तयारी भएको थियो। तर, केही महिनापछि सरेको छ। नेपाल र भारतका ऊर्जा सचिवबीच २५ वर्षको दीर्घकालीन बिजुली किनबेच सम्झौता हुनेछ।
भारतले नेपाली लगानीमा बनेका एक दर्जन आयोजनाबाट ६ सय ३२ मेगावाट बिजुली खरद गरिरहेको छ ।५ हजार मेगावाट क्षमताका ७ आयोजनाको अनुमतिपत्र (लाइसेन्स) भारतीय कम्पनीसँग छ। १० हजार मेगावाट बिजुली भारतीय कम्पनीहरूले बनाएका आयोजनाको मात्र किन्ने वा सबै आयोजनाको किन्ने स्पष्ट छैन।
सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो पटक नेपाल भ्रमणका बेला दुई देशबीच विद्युत व्यापार सम्झौता (पिटिए) मा हस्ताक्षर भएको थियो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !