दार्चुला । १७ औं विश्व रेबिज विरुद्धको दिवस–२०८० को अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र दार्चुलाले रेबिज रोग लाग्नबाट बच्ने उपायका बारेमा विद्यालय स्तरमा विभिन्न कार्यक्रम संचालन गरेको छ ।
शिक्षक र विद्यार्थीबाट गाउँ समाजमा सबै भन्दा छिटो जनचेतना फैलने भन्दै कार्यालयले दिवसका अवसरमा विद्यालयमा कार्यक्रम गरी विद्यार्थीहरुलाई प्रशिक्षण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र दार्चुलाका कार्यालय प्रमुख रामबहादुर खड्काका अनुसार रेबिज सप्ताहमा जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मडमा रहेको मालिकार्जुन माध्यमिक विद्यालयका विद्यार्थीलाई रेबिज रोग लाग्न नदिन अपनाउनु पर्ने उपायका बारेमा प्रशिक्षण गरिएको हो । रेबिज रोग लाग्नबाट बच्ने उपाय र रोग लागेमा गर्नुपर्ने उपचारका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएको उहाले जानकारी दिए । यस्तै मालिकार्जुन गाउँपालिकाकै पस्तीमा पनि विद्यार्थीहरुलाई रेबिज रोग बारे जानकारी गराएको बताइएको छ ।
बिज्ञापन
“एक स्वास्थ्य एक गन्तव्य” भन्ने मुल नारा रहेको विश्व रेबिज विरुद्धको दिवसको अवसरमा कार्यालयले एक हप्ता सम्म विभिन्न कार्यक्रम गरी दिवस मनाइएको कार्यालय प्रमुख खड्काले बताउनुभयो । असोज ५ गते देखी ११ गते सम्म संचालन गरिएको रेबिज सप्ताहमा भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र दार्चुलाले ८९ वटा कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाएको जनाएको छ । सप्ताह सुरु हुनु भन्दा पहिले ४० वटा कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइएको उनले जानकारी दिए ।
रेबिज रोगको प्रकोप फैलिन नदिन कार्यालयले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरेको बताइएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०(०८१ मा जिल्लाको शैल्यशिखर नगरपालिकालाई १०० डोज रेबिज विरुद्धको खोप उपलब्ध गराएको कार्यालय प्रमुख खड्काले जानकारी दिए।
सप्ताहको अन्तिम आज जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमको आयोजना गरी सरोकारवालाहरुलाई रेबिज रोगका बारेमा जानकारी गराइएको कार्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी किरण जोशीले रेबिज विरुद्धको खोपको आविष्कार भएपछि रोगबाट हुने मृत्युदर कम भएर गएको बताए । रेबिज रोग लाग्नबाट बच्न जनचेतना फैलाउनु पर्ने तथा जंगली तथा घर पालुवा जनावरको टोकाइबाट बच्नु आवश्यक रहेको उनले बताए। यो वर्ष हाल सम्म रेविज रोग देखा नपरेको कार्यालयले जनाएको छ । घरपालुवा जनावर मध्ये बिरालोलाई पनि रेबिज विरुद्धको खोप अनिवार्य रुपमा लगाउनु पर्ने बताइएको छ । मानिसहरुमा जनचेतनाको कमीका कारण बिरालोलाई खोप लगाउन नल्याउने गरेको कार्यालय जनाएको छ । बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेविज रोग बिरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट सर्ने गर्दछ ।
बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्भव भएमा साबुन पानी वा सफा पानीले टोकेको भागमा ५ मिनेट सम्म राम्ररी सफा गरी घाउमा डिटोल आयोडिनको झोल लगाउनु रेविजको प्राथमिक उपचार रहेको पशु विकास अधिकृत डा। दिगम्वर जोशीले बताए । नेपाल सरकारको २०३० सम्म रेबिज रोग शुन्यमा झार्ने लक्ष्य रहेको र त्यही अनुसार रेबिज रोग न्युनिकरण सम्बन्धिका कामहरु भइरहको उनले बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !