काठमाडौं । पछिल्लो लगानीकर्ताहरु मनोबल बढ्न नसक्दा सेयर बजार निरन्तर घटिरहेको छ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको कारोबारमा बजार ३ दिन घट्यो भने १ दिनमात्रै बढ्यो ।
यस साता सेयर बजारमा ५८.१४ अंकको गिरावट आएको छ। अघिल्लो साता १९९०.५९ मा बन्द भएको बजार यो साता १९३२.४५ मा बन्द भएको छ। अघिल्लो साता पनि सेयर बजार २३ अंकले घटेको थियो । पहिल्लो केही सातायता सेयर बजार निरन्तर ओरालो यात्रामा छ ।
आइतबार नेप्से सूचक २९.८१ अंकले घटेको थियो । सोमबार सेयर बजारमा झिनो अंकको वृद्धि देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ७ अंकले बढ्यो । मंगलबार बजारमा ६.४५ अंकको गिरावट आयो । बुधबार भने श्रीकृष्ण जन्मअष्टमी परेकाले सरकारले सार्जनिक बिदा दिएको थियो । त्यसैले सेयर बजार पनि बन्द थियो ।
अन्तिम कारोबार दिन बिहीबार २८.९२ अंकले घटेर १९३२.४५ को बिन्दुमा रोकियो ।
नेप्से परिसूचक मात्र नभई कारोबार रकम समेत यो साता झनै खस्किएको छ । यो साता ४ अर्ब २४ कारोड रुपैयाँको सेयर किनबेच भएको छ। जबकी अघिल्लो साता पनि ४ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको थियो।
बजार घट्दा यस साता मात्र लगानीकर्ताले १ खर्ब ७५ अर्ब रुपैयाँ गुमाएका छन् । यो साता बजार पुँजीकरण घटेर २८ खर्ब ९२ अर्ब रुपैयाँ कायम भएको छ । अघिल्लो साता बजार पुँजीकरण ३० खर्ब ६७ अर्ब रुपैयाँ थियो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !