एकाउन्टेन्ट बन्नु भएका शर्माले पुँजी बजारसँगै शिक्षण पेशामा लामो समय बिताउनु भयो । पछिल्लो समय अध्यात्मिक जागरण फैलाउने संस्था जीवन विज्ञानमार्फत आध्यात्मिक शिक्षा फैलाउने क्रममा उहाँलाई धेरैले चिनेका छन् । योगाभ्यास, प्राणायाम र ध्यानमा मानिसहरुलाई अभ्यस्त गराउने जीवन विज्ञानको जागरण अभियान विश्वभर ४० भन्दा बढी देशमा फैलिएको र ३० लाखभन्दा बढी मानिसहरु यसमा अभ्यस्त भैसकेका छन् । प्रभु क्यापिटल लिमिटेडका अध्यक्ष समेत रहनु भएका शर्मासँग पुँजी बजार र अध्यात्म शिक्षाबारे कुराकानी ।
मर्चेन्ट बैंकलाई पूँजी बजारको अंगका रुपमा लिइन्छ । तपाईं प्रभु क्यापिटलको अध्यक्ष हुनुहुन्छ । आध्यात्मिक चिन्तनमा लागेको ब्यक्ति कसरी पूँजी बजारमा जोडिनु भयो ?
म शिक्षाले चार्टर्ड एकाउन्टेन्ट हुँ । वित्तीय क्षेत्रमा मैले लामो समय काम गरेको अनुभव छ । यो क्षेत्रमा रुची पनि छ । मान्छेको जीवनमा २ वटा कुरा आवश्यक पर्छ । मोटरमा ब्रेक र एक्सलेटर दुवै हुन्छ । एक्सलेटर मात्रै छ तर ब्रेक छैन वा ब्रेक मात्रै छ र एक्सलेटर छैन भने त्यो काम लाग्दैन । मान्छे पनि गतिशिल र शान्त दुवै हुन सक्नु पर्छ । एक्सलेटरमा गतिशिलता हुन्छ । अर्थतन्त्रका विभिन्न पाटाहरु गतिशिल हुन् । र, अध्यात्म शान्त, स्थीर रहने कला हो । यी दुवै अनिवार्य आवश्यक पर्छ । पूँजी बजारमा उतारचढाव हुन्छ । त्यो उतारचढावको बीमा हुँदैन । जो ब्यक्ति उतारचढावको मज्जा लिएर नाफा मात्रै गर्छु भनेर बजारमा प्रवेश गरेको हुन्छ, उसले दुःख पाउनु र मानसिक पीडा भोग्नु स्वभाविक हो । किनभने बजार उसको शैलीमा चल्दैन । हामी पनि प्रभु क्यापिटलमा संलग्न भएर बजारका लागि महत्वपूर्ण योगदान गर्दै आएका छौं । केवल धन कमाउने उद्देश्यले मात्रै नभइ मान्छेको जीवन परिवर्तन गर्न योगदान गर्न सकिन्छ भन्ने इच्छा वा सोच हो ।
आध्यात्मिक चेत शान्त र स्थीर हुन्छ भन्नुभयो, पूँजी बजार बारम्बार उथलपुथल हुने क्षेत्र हो । बजारमा उथलपुथल भएको बेला एउटा लगानीकर्ता कसरी शान्त रहन सक्छ ?
आजको आजै सन्तुलन गर्न सकिँदैन । स्थीरता र शान्तको अभ्यास गर्नुपर्छ । यसलाई ध्यान भनिन्छ । जीवन विज्ञानमा गरिने सबै ध्यान शान्तिको अभ्यास हो । अभ्यास गरेर शान्तिको केन्द्र पत्ता लगायो भने उथलपुथलबाट प्रभावित हुँदैन । पूँजी बजारमा मात्रै नभएर हरेक क्षेत्रमा उथलपुथल भइरहेको हुन्छ । यदि सवारी चलयाएर कतै जानु हुन्छ भने कुनै ठाउँमा दुर्घटना हुनसक्छ । बाटोमा हिँड्दा कतै लड्न सकिन्छ । खाना खाँदाखेरी ढुंगा पर्न सक्छ । त्यसैले जोखिम जहाँ त्यही छ । गतिशिलता जीवनका हरेक अंगमा छ । गतिशिलताको एउटा नियम हुन्छ, त्यो हो जोखिम । अध्यात्मले ब्यक्तिलाई जब शान्त बनाउन सिकाउँछ तब ब्यक्तिको जोखिम लिने क्षमता पनि बढ्दै जान्छ । जो ब्यक्ति शान्त छ उसले बढी जोखिम लिन सक्छ । उदाहरणको रुपमा बिलगेट्सलाई लिन सकिन्छ । यदि ती ब्यक्ति शान्त हुँदैनथे भने यति धेरै काम गर्न सक्ने थिएनन् ।
जो ब्यक्ति धेरै काम गर्न सक्छ, उसको केन्द्र बिन्दुमा स्थीरता छ । तर, हामी गतिशिल मात्रै हुन खोज्छौं, स्थीर हुन खोज्दैनौं । यदि ब्यक्तिको भित्र मन शान्ति छ भने सन्तुलन आफै आउँछ । ब्यक्तिभित्रको शान्तिले कति जोखिम लिने र कति जोखिम नलिने भनेर टुंंगो लगाउन सक्छ । उतारचढावमा पनि धेरै प्रभावित नभइकन आफ्नो आधार रेखामा बस्नुपर्छ । मलाई यत्ति भए ठिक छ भनेर आधार रेखा निर्धारण गर्नु पर्ने हुन्छ । सन्तुलित हुने प्रयास गर्नु पर्दैन । अध्यात्मले ब्यक्ति भित्रको सन्तुलनलाई जागृत गरिदिन्छ । सन्तुलतको केन्द्र ब्यक्ति भित्र नै हुन्छ ।
पुँजी बजारमा लागेका मान्छेको ध्यान पैसामा केन्द्रीत हुन्छ । पैसा र अध्यात्म बीचको सम्बन्धलाई कसरी जोड्नुहुन्छ ?
यी एक अर्काका परिपूरक छन् । मान्छेले बिना धन दैनिक जीवन यापन गर्न सक्दैन । यदि धन नै छैन भने के खाने ? अध्यात्म नगरेको मान्छे जहिल्यै पनि तनाव, हतार, आत्तिएको र असुरक्षाको गहिरो पीडामा रहन्छ । ध्यानले धन आर्जन गर्ने क्षमता बढाउँछ तर धनले ध्यान बढाउँदैन । त्यसकारण ब्यक्तिले ध्यान आर्जन गर्ने क्षमता बढाउँदा मात्रै धन आर्जन गर्न सिक्नुपर्छ । ध्यान र धन दुईटैलाई सँगसँगै लिनु पर्छ ।
पूँजी बजारमा दैनिक उतार चढाव हुँदा लगानीकर्ताहरु तनावमा हुन्छन् । लगानीकर्ताहरु शान्त जीवनमा बस्नका लागि आधात्मिक क्षेत्रबाट कस्तो सुझाव दिनु हुन्छ ?
घाटा होस् या नाफा स्वस्थ शरीर चाहिन्छ । नाफा र घाटाले शरीरलाई असर गर्न थाल्यो भने धेरै समय टिक्न सकिँदैन । त्यो मान्छेले दीर्घकालसम्म काम गर्न सक्दैन । संसारिक जीवनमा उथलपुथलले कम प्रभाव पर्न सक्ने बन्नुपर्छ । पहिला आफ्नो स्वास्थ्यको रक्षा गर्नुपर्छ । स्वास्थ्यको रक्षा पैसा वा पूँजी बजारले गर्दैन । घाटा नाफा जेसुकै भएपनि हरेक दिन योगाभ्यास वा व्यायाम गर्नुपर्छ । स्वस्थ शरीर भएर मात्रै काम गर्न सकिन्छ । शरीरलाई स्वस्थ अरु कसैले पनि गर्दैन । धन आर्जन गर्नु पर्छ तर, स्वास्थ्यलाई बिगारेर वा गुमाएर होइन ।
जीवन विज्ञानले प्रत्येक दिन निश्चित तालिका र विधि दिन्छ । त्यो तालिका र विधिमा ब्यक्तिको स्वास्थ्य आफै राम्रो हुन्छ । व्यायाम गर्ने मान्छेको जीवनमा अनुशासन पनि हुन्छ । दीर्घकाल टिक्नका लागि अनुशासन आवश्यक पर्छ । स्थायी भएर काम गर्नु छ, अस्थायी होइन । रातारात केही पनि हुँदैन । जसरी शरीरको स्वास्थ्यका लागि योगाभ्यास गर्नु हुन्छ, त्यसैगरी मनको स्वास्थका लागि प्राणायाम गर्नुपर्छ । स्वास प्रस्वासका बिधिलाई प्राणायाम भनिन्छ । र, जीवन विज्ञानका प्राणायमका विधिहरु आधुनिक मनुष्यलाई लक्षित गरेर निर्माण गरिएका छन् । ५ मिनेट प्राणायाम गर्नुभयो भने तुरुन्तै आफ्नो तनाव फाल्न सकिन्छ । अध्यात्म मरेपछि स्वर्ग जाने होइन, जीवनलाई स्वर्ग बनाउने विज्ञान हो । परिवारलाई पनि स्वर्ग बनाउँछ ।
मान्छेलाई शान्ति र स्थीरता चाहिन्छ । यसको लागि ध्यान गर्नुपर्छ । योगाभ्यास, प्राणायाम र ध्यान हरेक दिन गर्नु भयो भने संसारमा सबैभन्दा ठूलो बीमा खरिद गरे सरह नै हुन्छ । बीमाले स्वास्थ र औषधि दिन सक्छ । धनले औषधि मात्रै दिन्छ । तर, स्वस्थ शरीर व्यायामले मात्रै दिन्छ । स्वस्थ शरीर दिने क्षमता ब्रम्हाण्डमा कसैको पनि छैन । ब्यक्तिको मनलाई शान्ति पनि कसैले गर्न सक्दैन । मनले खोजेको कुरा पैसाले किन्न सक्नुहुन्छ । तर, भएको कुरालाई उपभोग गर्न मन शान्त चाहिन्छ । जस्तो घरमा मिष्ठान्न भोजन पकाएको छ । तर, कोही मान्छे बिरामी छ भने मिष्ठान्नको फाइदा लिन सकिँदैन ।
योगाभ्यास, प्राणायाम र ध्यानलाई दैनिक जीवनको अंग बनाउनु पर्छ । यसलाई खाना खाए जस्तै बनाउनु पर्छ । यसलाई खाना भन्दा पनि बढी महत्व दिनुपर्छ । एक दिन खाना खानु भएन भने केही फरक पर्दैन, बरु व्रत नै हुन्छ । शरीर राम्रो हुन्छ । तर, एक दिन पनि योगाभ्यास, प्राणायाम र ध्यान गर्नु भएन भने समस्या आउँछ । त्यो समस्या बुढेशकालमा झनै देखिन्छ ।
तनावले मानिसहरुमा हानिकारक हर्माेनहरु उत्पादन हुन्छ । सेयर बजार दैनिक उथलपुथल हुँदा लगानीकर्ताले नचाहेर पनि तनाव लिएका हुन्छन् । लगानीकर्ताले यो कठिन जीवनबाट कसरी शान्त जीवन बनाउने ?
यदि कोही मान्छे मोटरसाइकल चलाउँदै छ भने हेलमेट लगाउँदा दुर्घटना हुने सम्भावना कम हुन्छ । हेलमेट नलगाएर मोटर चलाएको छ भने दुर्घटना हुँदा असर बढी हुन्छ । जसरी हेलमेटले सुरक्षा गर्छ, त्यसैगरी आध्यात्मले भित्री सुरक्षा दिन्छ । आध्यात्मको पाठ सिकेको छ भने मान्छे ढुक्क हुन्छ । आफ्नो बलमा भरोसा धेरै गर्न सकिन्छ । जुन दिन आत्मबलमा भरोसा गरिन्छ, त्यो बेला बजार घटेपनि केही छैन, फेरी उठिहाल्छु भन्ने मान्यता राख्छ । मान्छेमा गहिरो आत्मविश्सास जन्मन्छ । जीवन विज्ञानको कार्यक्रमहरुले मान्छेको आत्मविश्वास जगाएर शान्त र स्वस्थ बनाउँछ ।
तनावको बेलामा कर्केश्वर हर्माेन जन्मिन्छ । जुन हर्माेनले सबै कुराहरु बिगार्छ । योगाभ्यास, प्राणायाम र ध्यान गर्नुभयो भने खराब तत्वहरु उत्पादन हुँदैनन् । शरीरमा नकारात्मक असरलाई हटाउन, मनलाई शान्त बनाउन योगाभ्यास, प्राणायाम र ध्यान गर्याे भने सकारात्मक हर्माेन उत्पादन हुन्छन् । तनावमा भएका लगानीकर्ताहरुले जीवन विज्ञानका योगाभ्यास, प्राणायाम र ध्यान गर्नुपर्छ । धेरै जना लगानीकर्ता, उद्योगपति जीवन विज्ञानमा आएर योगाभ्यास, प्राणायाम र ध्यान गरिरहनु भएको छ । जीवन विज्ञान मार्फत २० लाख मान्छेले फाइदा लिएका छन् । जीवन विज्ञानले ३० हजारभन्दा बढीलाई डिप्रेशनबाट जोगाएका छौं । नियमित रुपमा जीवन विज्ञानका कार्य गर्नु हुन्छ भने जीवनमा डिप्रेशन आउने कुरा शुन्य हुन्छ । जस्तो कम्प्युटरमा पहिला नै एन्टि भाइरस राख्यो भने कम्प्युटर ह्याक हुने सम्भावना न्यून हुन्छ । त्यसैले डिप्रेशनमा जानु भन्दा अघि नै योगाभ्यास, प्राणायाम र ध्यान गर्नु पर्छ ।
पूँजी बजारमा आज लगानी गरेर भोलि नै नाफा खोजिन्छ । तर, आध्यात्मले त्यस्तो भन्दैन । तपाईंले प्रवाह गर्नु भएको विचारसँग मेल खाँदैनन् नी ?
पूँजी बजार, फलाम बजार, इट्टा बजार, आइटी बजार लगायत सबै बजार बिगार्ने भनेको लोभीपापीले हो । जसको मनमा अत्याधिक लोभ छ, उसले बजारलाई बिगार्छ । जो दीर्घकालिन रुपमा बजारमा प्रवेश गरेको छ, उसले बजारलाई पनि मद्दत हुने गरी काम गरेको हुन्छ । रातारात कमाउन खोज्ने मान्छेको हृदयभित्र धेरै लोभ हुँदा लोभले खान्छ । त्यो लोभ मनबाट उत्पन्न भएको हो । लोभ र पाप मनमा छ भने त्यसले कसैलाई पनि हित गर्दैन । त्यसैले दिगो काम गर्न चाहनु हुन्छ भने मनमा रहेको पापलाई फाल्नु पर्छ । लामो दौडको घोडा जस्तै बन्नुपर्छ । आजको भोलि कमाउन खोज्ने वा मनमा लोभपाप भएका ब्यक्तिलाई एक÷दुई वर्ष पछि फलफूल बोकेर अस्पतालमा भेट्न जानु पर्छ । आध्यात्मले दीगो काम गर्न सिकाउँछ । दीगो जीवन यापन गर्न सिकाउँछ ।
मर्चेन्ट बैंकरलाई उकास्नका लागि नियामक निकायले के गर्नुपर्छ ?
नियामक निकायले अध्ययन र अनुसन्धानमा खर्च गर्नुपर्छ । एउटा स्थीर बजारले लाखौं ब्यक्तिको आम्दानी र रोजगारी सिर्जना गर्छ । बजार कल्पवृक्ष हो । बजार कामधेन हो । थीर बजार निर्माण गर्नका लागि अध्ययनशील ब्यक्ति चाहिन्छ । नियामक निकायले अध्ययन र अनुसन्धानमा लगानी गर्न जरुरी छ । मानव संशाधनको विकासमा लगानी गर्नुपर्छ । एउटा टिममा भिजन बनाएर काम गर्नुपर्छ । पूँजी बजारमा सूचना, सरोकारवालाहरुको जानकारी र शिक्षाको एकदमै ठूलो अभाव छ । लगानीकर्ता र बजारमा रहेका खेलाडीहरुको शिक्षालाई महत्वपूर्ण मानिन्छ । त्यो शिक्षामा नियामक निकायले आध्यात्मिक शिक्षामा जोड्नु पर्छ ।
पूँजी बजार विकास नहुनुमा राम्रा संस्थाहरु बजारमा नआउनु हो । राम्रा संस्थालाई बजारमा आउन प्रेरित गर्नु पर्छ । र, बजारमा आउने व्यवस्था मर्चेन्ट बैंकरहरुले गर्छन् । संस्थाहरुको भ्यालू डिस्कोभरी गर्ने कामका लागि मर्चेन्ट बैंकलाई तालिम दिनुपर्छ । लुकेर बसेका राम्रा संस्थाहरु आए भने बजारमा स्थीरता र दीगोपना आउँछ । नियामक निकायहरुमाथि आम जनताको धेरै ठूलो भरोसा हुन्छ । यदि सेबोनमाथि आम जनताको भरोसा रहेन भने कसैले पनि लगानी गर्दैन । त्यसकराण यी संस्थाहरु आफैं आध्यात्मिक बन्दै जानुपर्छ । ताकी लगानीकर्ताको यी संथाहरुमा विश्वास बढोस् । संस्थाहरु पनि आध्यात्मिक बन्नुपर्छ । यदि संस्थाहरु लोभ र पापमा छैनन भने लगानीकर्ताहरुको विश्वास पनि बढ्छ । नियामकको बारेमा एउटा पनि नराम्रो कुरा आयो भने त्यसले पुरै बजारलाई असर गर्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !