प्रकाशचन्द्र लोहनी । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका डा. लोहनी अहिले पनि सक्रिय राजनीतिमा छन् । उमेरको उत्तरार्धमा पनि लेखनमा सक्रिय नेता लोहनीले नेपालको निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमीका खेलेका छन् । पञ्चायती कालमा अर्थमन्त्री बनेका उनको कार्यकालमा बनेका केही नीतिगत व्यवस्थाले नेपाली बैंकिङ तथा बीमा क्षेत्रले एक किसिमको फड्को नै मारेको छ । अमेरिकामा फुलबाइट कार्यक्रम अन्तर्गत इन्डियाना युनिभर्सिटीबाट एमबीए र युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधी गरेका डा. लोहनी एक परिचित अर्थशास्त्री हुन् । उनै लोहनीसँग देशको वर्तमान अर्थतन्त्र र अर्थमन्त्रीका रुपमा उनको कार्यकालमा भएका कामको विषयमा संक्षिप्त कुराकानी गरेका छौं ।
पछिल्लो समय देशको अर्थतन्त्र समस्यामा पर्यो, आर्थिक मन्दी आयो भन्ने धारणा धेरैको छ, यो विषयलाई तपाईंले कसरी नियालिरहनु भएको छ ?
हामी रेमिट्यान्सले बाँच्नु पर्ने अवस्था छ । देशमा उत्पादन केही पनि छैन । रोजगारी घटिरहेको छ । उद्योगीको उत्पादनमा संकट छ । रेमिट्यान्सबाट आएको करले प्रधानमन्त्री, मन्दी र सांसदहरु गाडी चढिरहेका छन् । हाम्रो जग कमजोर छ । अर्थतन्त्र कस्तो भन्न्का लागि निर्यात आयातको ट्रेण्ड हेर्नु पर्छ । भ्रष्टाचार कति नियन्त्रण भइरहेको छ, यो विषय पनि केलाउनु पर्छ । नेपाल उपभोग गर्ने राष्ट्र मात्रै भयो । आयात मात्रै बढ्ने भयो । यसले संसारमा कुनै पनि देश माथि गएको छैन । यो एउटा ‘डच डिजिज’ हो । अहिले जमिन बाँझो भइरहेको छ । काम गर्ने श्रमिक छैन । विश्व बजारमा प्रतिस्पर्धा गर्ने क्षमता कम भइरहेको छ । हाम्रो अर्थतन्त्र सुकुलगुण्डा जस्तो छ ।
सरकारले चालु आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण उठाउन थालेको छ, धेरैले यसलाई संकटको संकेतका रुपमा लिएका छन्, तपाईंले यस विषयलाई कसरी लिनुहुन्छ ?
पछिल्लो समय बैंकको कर्जा घट्न थालेको छ । सरकारले पनि ब्याज घटेकै बेला ऋण उठाऔं भन्ने योजना पनि बनाएको हुन सक्छ । अर्को भनेको राजश्व संकलनमा संकुचन आएको छ । राजश्व असुलीमा कमि आएर पनि सरकारले चालु खर्च धान्नका लागि आन्तरिक ऋण उठाएको हुन सक्छ । अहिले नै यस्तो हो भनेर भन्न सकिने अवस्था छैन ।
पछिल्लो समय उद्योगी व्यवसायीहरुले बैंकको ब्याज धेरै भयो भनेर गुनासो गरिरहेका छन्, यस्तो बेला बैंकको ब्याज घट्नु पर्छ वा बढ्नु पर्छ, तपाईंको बुझाइ के हो ?
बैंक तथा वित्तीय संस्थाको ब्याजदर तपाईं हामीले अपेक्षा अनुसार हुँदैन । जस्तै, वस्तुको माग बढ्यो भने मूल्य बढ्छ, माग घट्यो भने मूल्य पनि घट्छ । बैंकको ब्याजदर पनि त्यस्तै हो । कर्जाको माग बढी भयो भने ब्याज बढ्छ, माग नै छैन भने ब्याजदर घट्छ । कहिले काहीँ नियाकक नेपाल राष्ट्र बैंकले पनि केही निर्देशनमार्फत् काम गरिरहेको हुन्छ । राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चितीलाई हेरेर कर्जाको वृद्धि कति गर्ने, म्रदा कति बढाउने भन्ने विषयमा रणनीतिक हिसाबमा योजना बनाएर ब्याजलाई अप्रत्यक्ष रुपमा चलाउन सक्छ । यो बिचमा खेल्ने भनेको बैंक वित्तीय संस्थाले नै हो ।
तपाईंसँग अर्थमन्त्री बनेको अनुभव पनि छ, देशको अर्थतन्त्रलाई नजिकबाट नियाल्ने र त्यसलाई चलाउने अवसर पनि पाउनु भएको छ, धेरै अर्थमन्त्री आउने जाने क्रम मात्रै भइरहेको तपाईं अर्थमन्त्री बन्दा देशले के पायो ?
म अर्थमन्त्री हुँदा धेरै नीतिहरु बनेका थिए । जसले अहिलेसम्म पनि निजी क्षेत्रका लागि महत्वपूर्ण काम गरिरहेका छन् । नेपाली बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुका लागि म अर्थमन्त्री भएपछि नै धेरै उपलब्धि हासिल भएको छ । म अर्थमन्त्री भएको २०४० सालमा हो । देश विकासमा सबैभन्दा बढी आवश्यक पर्ने भनेको पुँजी हो । पुँजी दिने संस्था खोज्नु पर्छ । म अर्थमन्त्री हुँदा सुरुमा नेपाल बैंक र वाणिज्य बैंक मात्रै थिए ।
विदेशी बैंक ल्यायो भने तिनले हाम्रो राष्ट्रिय सम्पत्ति लुट्छन् भन्ने बुझाइ धेरैमा थियो । जुन बकम्फुसे कुरा थियो । मैले नै नेपालमा नयाँ बैंक खोल्नु पर्छ भन्ने कुरा गरेँ । बैंक नेपाली नै हुनु पर्यो, तर विदेशी लगानी र बैंक म्यानेज्मेन्ट पनि विदेशी आउनु पर्यो भन्ने नीति बनायौं । ‘थ्री इन वान’को सिद्धान्त अघि सार्यौं । सुरुमा नेपाल अरब बैंक आयो । त्यसमा एक तिहाई उसको, एक तिहाई यताको व्यवसायी र एक तिहाई सर्वसाधारणको सेयर हुने भनेर नीति बनायौं । त्यसको उद्घाटन मैले नै गरेँ । त्यसपछि अरु बैंकहरु आउने क्रम सुरु भएको हो । आजभन्दा ४६ वर्ष अगाडि मैले घर बनाउँदा ५ लाख रुपैयाँ लाग्यो । आवासमा फाइनान्सिङ गर्ने अभ्यास त्यतिबेलादेखि नै सुरु भएको हो । हाउजिङ फाइनान्स कम्पनी, बीमा कम्पनी ऐन लगायत धेरै कामहरु त्यो बेला भए । नयाँ बैंक, नयाँ बीमाहरु आए ।
म अर्थमन्त्री हुँदा नै शिक्षामा निजी क्षेत्रको प्रवेश भएको हो । त्यससँगै बैंकको कर्जालाई सर्वसाधारणको पहुँचमा पुर्याउनका लागि पनि त्यतिखेर केही महत्वपूर्ण काम गरियो । गरिबको पहुँचमा बैंक पुगे । कृषि अनुदानमा पनि सहुलियत दिने विषय त्यतिखेर नै आएको हो । अहिले नेपालमा कर्पोरेट सेक्टर भनेकै बैंक भएको छ । त्यो नीतिले नै नेपाली बैंकिङको विकास भयो । अब नेपालमा विदेशी बैंकर ल्याउनु पर्दैन । ‘नलेज ट्रान्सफर’ भयो । बरु नेपाली बैंकरहरु विदेशी बैंकमा काम गर्न गइरहेका छन् । यस्तै काम अन्य क्षेत्रमा पनि हुनु पथ्र्यो तर भएन । मैले यति धेरै काम गरेँ, तयसपछि आएका अर्थमन्त्रीले के काम गरे ? कति प्रगति भयो ?
नेपालमा रोजगारी पाइएन भनेर विदेशिने युवाहरुको संख्या दिनप्रतिदिन बढ्दैछ, व्यवसायीहरुले पनि देशमा व्यवसायिक वातावरण बनेन भनेर गुनासो गर्छन्, यसभित्रको समस्या के हो ?
यो सबै कन्फिडेन्टको अभाव हो । कुनै पनि व्यक्ती वा व्यवसायीलाई नेपालमा भविश्य छैन भन्ने वातावरण सिर्जना गरिएको छ । जुन दुःखद हो । व्यवसाय गर्नेलाई पनि हेर्ने नजर बेग्लै छ । यो देश व्यवसायबाट नाफा गर्ने व्यक्ती चौतफी रुपमा घेराउमा पर्छ । सबैको आँखा त्यो तर्फ नै हुन्छ । नेपालमा लगानी गर्नेहरु निरुत्साहित भएर विदेशमा लगानी गर्न खोजिरहेका छन् । अहिले नेपालमा शिक्षाको नाममा पैसा बाहिरिरहेको छ । अहिले वार्षिक तीन लाख विद्यार्थीले १२ कक्षा पास गरेका छन् भने १ लाख जना विद्यार्थी विदेश गइरहेका छन् । ती विद्यार्थीसँगै पुँजी पनि पलायन भइरहेको छ । बैधानिक किसिमले नै विदेशमा पुँजी पलायन भइरहेको छ । विदेशी मुद्रामै पैसा गइरहेको छ । कतिपय विद्यार्थीका आमाबुवाहरुले पढ्नका लागि भनेर विदेश पैसा पठाइरहेका छन् । त्यो पैसा पढ्नका लागि नभएर उतै व्यवसाय गर्नका लागि हो । नेपालको सम्भावना र ग्रोथरेट पनि निर्यात भइरहेको छ ।
यसको लागि अहिलेको सिस्टम नै फेलर भइरहेको छ । अहिले राजनीतिक दलहरु आफु बनौं र आफ्नो पार्टी बनाऔं भन्नेमा छन् । कतिपय मान्छेहरु पार्टीको भएकोले प्रहरीले पक्राउ गर्न सकेको छैन । नक्कली मान्छेहरुलाई पक्राउ गरिरहेको छ । जतिसुकै भष्टाचार भएपनि पार्टीका ठूला मान्छेलाई कारवाही नहुने अघोषित कानुन छ । यो अवस्थामा कसरी बन्छ देश ?
अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि के गर्न आवश्यक छ ?
जसको जे जिम्मेवारी छ, त्यो जिम्मेवारीलाई अनुशासित भएर पुरा गर्ने हो । अबको बाटो भनेको सुधार नै हो । समस्याको पहिचान गर्न सक्नुपर्छ । व्यक्तिलाई रोग लागेको छ भने के रोग लागेको हो, त्यो रोगको पहिचान गरेर उपचार गर्ने हो । त्यस्तै, अर्थतन्त्रमा पनि त्यस्तै हो गर्ने हो । अहिले अर्थतन्त्रमा देखिएको समस्या के हो ? त्यो समस्या पहिचान गरेर समाधानको बाटो खोज्ने हो । आर्थिक अनुशासन कायम गर्नु पर्छ । समस्याको पहिचान मात्रै गर्न सकियो भने ५० प्रतिशत समस्या समाधान हुन्छ । बजेटलाई खेलौना सोच्नुभएन । मेहेनत गर्नु पर्यो । व्यवसायीहरुमा विश्वासको वातावरण सिर्जना गर्नु पर्यो । अहिले अधिकांश व्यवसायीहरु लगानीलाई होल्ड गरेर बसेका छन् । त्यो भनेको असुरक्षा र जोखिम भएर हो । त्यसका लागि सरकारले उनीहरुलाई विश्वास दिलाउन सक्ने वातावरण सिर्जना गर्नु पर्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !